पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं- नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो ।

पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

गएरातिको अविरल बर्षासगैँ आएको पहिरोले इच्छाकामनामा आठ घरमा क्षति पुर्‍याएको छ । चितवनको इच्छाकामना गाउँपालिका- ६, पाँच किलो बजारका आठ वटा घरमा क्षति पुर्‍याएको हो ।

पहिरोले दुई वटा मोटर साइकल, १/१ वटा म्याजिक भ्यान र बोलेरो गाडी पनि पुरिएको पत्रकार चित्र बहादुर गुरुङले जानकारी दिनुभयो ।
वडा नम्बर ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र विद्यालयको शौचालयमा समेत क्षति पुर्‍याएको उहाँले जानकारी दिनुभयो ।
गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।

पाँच किलो बजार नारायणगढ–मुग्लिन सडक खण्डमा पर्दछ । यस सडकखण्ड अन्तरगत इच्छाकामना गाउँपालिका- ६ , चार किलो र पाँच किलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ –मुग्लिन सडक पुर्णरुपमा अवरुद्ध छ ।।

यस्तै सडकखण्डअन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.