झरी पर्ने चिन्तासँगै किसानलाई धान थन्क्याउन चटारो

बागमती- हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई नकाटेको धान पानीका कारण बिग्रने पो होकी भन्ने चिन्ता छ ।

“खेतमा धान पाकिसकेको छ, मौसम बिग्रने हल्ला छ, काटौँ की नकाटौँ”, अधिकारीले भन्नुभयो, “मैले १२ कठ्ठा क्षेत्रफलमा धान लगाएको छुु, काटौँ की नकाटौँ भन्ने कुराले छटपटी भएको छ ।”

बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने अनुमानका कारण त्यसको प्रभावले बुधबारदेखि मौसम प्रतिकुल बन्ने सम्भावना छ ।

पूर्वानुमानअनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने र छिटपुट वर्षा हुन सक्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना हुने अनुमान गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका–१० हटिया फाँटका फणिराज अधिकारीको खेतमा धान पाकेको छ । पाकेको धान काटौँ वा नकाटौँ भन्ने दुुविधामा हुुनुुहुन्छ ।

राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले धानबालीमा क्षति पुग्न सक्ने भन्दै मङ्गलबारसम्म धान थन्काउन आग्रह गरिरहेका छन् ।

नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार भोलिदेखि देशका विभिन्न भागमा मौसम प्रतिकूल हुने सम्भावना छ ।

बिहीबारदेखि मौसम प्रणालीको प्रभाव थप क्षेत्रमा फैलिने अनुमान गर्दै विभागले शुक्रबार र शनिबार यसको प्रभाव अझ बढ्न जनाएको छ ।

सम्भावित मौसमलाई दृष्टिगत गर्दै कृषकलाई धान काट्ने र भित्र्याउने काममा ढिलाइ नगर्न सुझाव दिँदै केन्द्रले मौसममा सुधार आएपछि प्राविधिकको सल्लाहअनुसार कृषि कार्य गर्न सुझाएको छ ।

केही वर्ष अघिसम्म नेपालमा मौसम पूर्वअनुमान नमिल्ने गरेको भएपनि पछिल्ला समयमा पूर्वानुमान ठ्याक्कै मिल्न थालेको कृषकहरू बताउँछन् । यस अघि गरिएका पूर्वअनुमान मिलेका कारण मौसमलाई ध्यान दिएर मात्रै काम गर्नुपर्छ भन्नेमा अधिकांश किसान रहेको अर्का स्थानीयवासी हरि अधिकारीले बताउनुभयो ।

हटिया फाँटमा केही वर्ष अघिसम्म पूरै फाँटमा नै धान खेती हुुने गरेको ८० वर्षीय श्रीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । पछिल्ला वर्षमा बढ्दो बस्ती विकासले खेतीयोग्य जमिनहरू घडेरीमा परिणत हुुँदै गएको उहाँले बताउनुभयो ।

“पहिले यो क्षेत्रको अधिकांश क्षेत्रमा धान खेत मात्रै थियो”, उहाँले भन्नुभयो, “केही वर्ष यता विशेष गरी बाटो आसपासका क्षेत्र घरहरूले भरिन थालेका छन् । वर्षेनी खेतीयोग्य जमिनहरू बस्तीमा परिणत भइरहेका छन् ।”

यस क्षेत्रमा बहुुबाली खेती हुन्छ । धानपछि तोरी वा आलु त्यसपछि मकैजस्ता बाली लगाइने भएका कारण वर्षैभरि केहीनकेही खेती हुुने गरेको बताउनुभयो । पछिल्ला समयमा स्थानीय युवाहरू रोजगारीका लागि विदेश जान थालेपछि भने जनशक्तिको अभाव हुने गरेको उहाँको अनुुभव छ । धान भित्र्याउनका लागि तराईमा विभिन्न क्षेत्रबाट १०० भन्दा बढी मजदुर हटिया क्षेत्रमा रहेको उहाँले बताउनुुभयो ।

मौसम पूर्वअनुमानका कारण धान काटेकालाई भित्र्याउन हतारो भएको बताउँदै उहाँले नकाटेको धान भने काट्नका लागि डराउनुपर्ने अवस्था रहेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.