कामदारको अभावमा जलबिरेको पुल बन्न ढिलाइ

धादिङ- चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन-नारायणगढ सडक खण्डको जलविरेमा निर्माणाधीन पुलको निर्माण कार्य दक्ष कामदारको अभावमा रोकिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कामदारहरु भारत फर्केका र निर्माण कम्पनीले कामदारहरु ल्याउन नपाउँदा काम ठप्प भएको हो ।

मुग्लिन-नारायणगढ सडक खण्डमा निर्माणधीन यो पक्की पुल गत आर्थिक वर्षमा नै सम्पन्न गर्नुपर्ने थियो । तर अब कहिलेसम्ममा यो पुल बनिसक्छ भन्ने अन्यौल बढेको छ ।

मुग्लिन-नारायणगढ सडक खण्डको स्तरोन्नती गरेसँगै यो सडक खण्डमा रहेका पुलहरु साँघुरा भएकाले नयाँ पुलहरु निर्माण गर्न थालिएको हो ।

यो सडक खण्डमा रहेका पुलहरुमा दाहोरो सवारी सजिलै आवत जावत गर्न कठिनाइ हुने गरेको थियो ।

गत आर्थिक वर्षमा नै निर्माण सम्पन्न गर्नुपर्ने चार वटा पुलहरु मध्ये सबैभन्दा लामो जलविरेको पुल निर्माण कार्य बल्ल ५० प्रतिशत सम्पन्न भएको मुग्लिन-नारायणगढ सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनु भएको छ ।

अन्य तीन वटा पुल निर्माण कार्य भने सम्पन्न भइसकेका छन । जलविरेको पुल निर्माण सम्पन्न भएसँगै सडकको लम्वाई समेत केही छोट्टिने छ ।
८० मिटर लम्वाईको थ्री-स्पान डिजाइनको यो पुलमा विच भागको ढलान सम्पन्न भइसकेको छ ।

तर दुबैतर्फ छेउको दुई ओटा स्पानको काम भने रोकिएका छन । सडक विभागले १४ करोडको लागतमा ठेक्का सम्झौता भएको दुई वर्ष भित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी रौता कन्स्ट्रक्सन कम्पनीलाई यो पुल बनाउने जिम्मा दिएको थियो ।

पुल निर्माणका लागि दक्ष कामदार ल्याउन नपाउँदा अब यही सडक खण्डमा बन्न लागेका नयाँ १५ वटा पुलको काम समेत प्रभावित हुने देखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.