नाष्टले यन्त्र मानव प्रयोगमा ल्याउने

काठमाडौं- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो ।

कार्यालयमा आगन्तुक पस्दा र निस्कदा यन्त्र मानवले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका प्रविधि सङ्काय साना जलविद्युत आयोजनाका प्रमुख रोशन पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिलाको स्वरुपमा निर्माण भइरहेको यसलाई ढोकामा राखिन्छ, यसले अभिवादन गर्ने, मास्क लगाएको वा नलगाएको छुट्टाउने, लगाए धन्यवाद व्यक्त गर्ने र नलगाए स्यानिटाइनर दिएर मास्क लगाउन दिनेछ ।” कार्यालयमा छिर्ने व्यक्तिले कार्यालयबारे जानकारी लिनुपरेमा कृत्रिम इन्टेलिजेन्समार्फत बोलेर श्रव्यदृश्यका साथ दोहोरो संवाद समेत गराउने पाण्डेले जानकारी गराउनुभयो ।

आठौं विज्ञान दिवस मनाइरहँदा नाष्टले ‘स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने यस वर्षको नारालाई आत्मसाथ गर्दै विज्ञान, प्रविधि र नवप्रवर्तनलाई यस प्रविधिको विकास गरेको छ । “ यन्त्र मानवले मानिसको तापक्रम जाच्ने छ”, उहाँले थप्नुभयो, “यसको उचाई पाँच फिट तीन इन्च र तौल ५५ किलोको हुनेछ ।” ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ भन्ने नारालाई बढवा दिन देशका ३३ व्यक्ति, संस्थालाई पहिलो पटक सरकारी स्तरबाट अनुदान दिएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो ।

यसैगरी २०७६ वैशाख ४ गते नेपाली वैज्ञानिकले जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा पहिलो पटक ‘नेपाली स्याट–१’ नामक नानो स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण गरिसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.