भारत कोरोना संक्रमणको “इपिसेन्टर” बन्दै

काठमाडौं- वितेको २४ घन्टामा विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भारतमा थपिएका छन् ।

भारतमा एकै दिनमा झण्डै ९३ हजार संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेमा पनि भारतीय नै सबैभन्दा बढी छन् ।

भारतमा कोरोना संक्रमणका कारण एकै दिन ११ सयभन्दा बढीको ज्यान गएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५४ लाखको नजिक पुगेको छ ।

यसै गरी हालसम्म कोरोना संक्रमणका कारण ८६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । लगातार संक्रमितको संख्या बढिरहेकाले भारतमा अक्सिजन लगायत स्वास्थ्य उपकरण तथा पूर्वाधारको अभाव हुन थालेको छ ।

कोरोनाबाट प्रभावित अमेरिका र ब्राजिलमा पनि पुन संक्रमण बढेको छ । विगत केही हप्तादेखि दैनिक संक्रमण निकै तल झरेको अमेरिकामा पछिल्लो २४ घन्टामा ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

गत हप्ता यो संख्या झण्डै आधामा झरेको थियो । अमेरिकामा ६९ लाखभन्दा बढी संक्रमित पुगिसकेका छन् भने कोरोना संक्रमणका कारण २ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

ब्राजिलमा पनि पछिल्लो २४ घन्टामा ३० हजार बढी संक्रमित थपिएका छन् । विगत केही दिन अघिको तुलनामा ब्राजिलमा पनि झण्डै दोब्वरको संख्याले संक्रमित बढेका हुन् ।

यो सँगै ब्राजिलमा संक्रमितको संख्या ४५ लाख नाघेको छ भने कोरोना संक्रमणका कारण १ लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ९ लाख ६० हजारभन्दा बढी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.