मजदूरीका लागि भारत जानेको लर्को

सर्लाही- कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदूरी गर्न फेरि भारत जान थालेका छन् ।

स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरु भारततर्फ जान लागेका हुन् । खुला सीमा नाकाका कारण यहाँका स्थानीवासी रोजगारीका लागि दैनिक सयौंको सङ्ख्यामा भारततर्फ गइरहेका छन् ।

रोगको डरले स्वदेश फर्केका नेपालीहरु अहिले भोकको पीडाले फेरि भारत पस्न बाध्य छन् । नेपालमा लकडाउन भएसँगै नेपाल भित्रिएका उनीहरु पाँच महिना आफ्नै देशमा बसेपछि पछिल्लो समय खान लाउन र दैनिक गुजारा गर्न समस्या भएपछि भारत पस्न बाध्य भएका हुन् ।

भारतमा फैलिरहेको कोरोनासँग मनमनै डर लागिरहेको भएपनि एक छाक टार्न र परिवार पाल्नका लागि भएपनि रोजगारीका लागि भारत गइरहेको नेपालीहरु सीमाक्षेत्रमा भेटिएको स्थानीयवासी उमाशंकर साहले बताउनुभयो ।

जिल्लाका अधिकांश नागरिक वर्षको करिब नौ महिना भारतका विभिन्न स्थानमा गएर काम गर्ने र भएको कमाइले बाँकी तीन महिना आफ्नो गाउँमा बसेर खाने गर्दछन । “चाडपर्वको समयमा आफ्नो गाउँ फर्किने र अरु समयमा भारतमै मजदूरी गरी बस्ने गरेको मजदूर विनय महतोले बताउनुभयो ।

जिल्लाका प्रायः सबै स्थानीय तहबाट सयौंको सङ्ख्यामा नेपालीहरु कामको खोजीमा भारतका विभिन्न राज्यमा जान शुरु गरिसकेको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र राय यादवले बताउनुभयो । उहाँका अनुसार गोडैताबाट करिब चार सय नेपाली रोजगारीका लागि भारत गएका छन् ।

नेपाली कामदार लिन भारतका विभिन्न स्थानबाट रिजर्भ बसहरु सीमावर्ती बजारका बस पार्कमा आएर बस्ने गरेका छन् । ती बसहरुमा करिब ४ हजार ५ सयसम्म भाडा तिरेर मजदूरहरु काम गर्ने स्थलतर्फ जान थालेका छन् ।

सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकाबाट पनि रोजगारीका लागि भारत जानेहरुको लर्को रहेको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिनु भयो । स्थानीय स्तरमा रोजगारी उपलब्ध नभएकाले कोरोना सङक्रमणकै बीचमा पनि उनीहरु भारत जान बाध्य छन् । जिल्लाबाट मजदूरीका लागि नेपालीहरु भारतको पञ्जाब, दिल्ली, मुम्बई र सुरतमा जाने गरेका पाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.