पाँच दिनदेखि बन्द रसुवागढी नाका सुचारु
रसुवा- पाँच दिनदेखि अवरुद्ध रसुवागढी नाका हिजो साँझदेखि संचालनमा आएको छ ।
नेपाल र चीनका प्रतिनिधिबीच मितेरी पुलमा बुधबार बैठक सम्पन्न भएसँगै नाका संचालनमा आएको हो । बैठकमा चीनियाँ पक्षले पहिरो हटाएर सामग्री आयात गर्ने प्रतिबद्धता जनाएका थिए । साथै असोज १८ गतेबाट मालवाहक सवारी साधनको संख्यालाई क्रमशः वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि गरेका थिए ।
अहिले नेपाल तर्फ एक कन्टेनर रेडिमेड सामान, ६ वटा माइक्रो हाइलक्स र ८ वटा हाइलक्स गाडि भित्रिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनु भयो ।
बैठकमा स्वास्थ्य सुरक्षा प्रोटोकल सम्बन्धी समग्र व्यवस्थापन स्वास्थ्य कार्यालय रसुवाले मिलाउने, सामान लोड अनलोड गर्ने स्थान निर्माण लगायत सम्पूर्ण व्यवस्थापन सुरक्षा निकायसँगको समन्वयमा रसुवा भन्सार कार्यालयले मिलाउने निर्णय पनि भएको थियो ।
सिमा नजिकै चीनतर्फ आइतबार पहिरो गई सडक अवरुद्ध बनेको थियो । केरुङ सडक खुलेपछि चीनतर्फ रोकिएका सामान आयात सुरु भएको हो ।
पटकपटक रसुवागढी नाकाबाट आयात ठप्प हुँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीनतर्फ रोकिएका छन् ।
केरुङमा, खासा, न्यालम र सिगात्से गरी १२ देखि १५ सय कन्टेनर सामान गोदाममै थन्किएको व्यापारी धर्म पौडेल बताउँछन ।
तयारी कपडा, स्याउ, लसुन, जुत्ता र चप्पल, झोला, चस्मा, इलेक्ट्रोनिक्स सामान, उद्योगका कच्चा पदार्थ, जलविद्युत आयोजनाका सामान, श्रृंगारका सामानहरु थन्किएका छन् । त्यसमाथि सामान बिग्रने, सिजन सकिने लगायत चिन्ताले व्यापारीलाई पिरोलेको छ ।।






प्रतिक्रिया राख्नुहोस्