पाँच दिन देखि बन्द रसुवागढी नाका सुचारु
रसुवा– नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच रसुवागढी नाकास्थित मितेरी पुलमा बुधबार बैठक बसे सँगै पाँच दिन देखि अवरुद्ध रहेको नाका बिहीबार साँझबाट सञ्चालनमा आएको छ ।
बुधबारको बैठकमा चिनियाँ पक्षले बिहीबार पहिरो हटाएर सामग्री आयात गर्ने प्रतिबद्धता जनाए सँगै असोज १८ गतेबाट मालवाहक सवारी साधनको संख्यालाई क्रमशः वृद्धि गर्दै लैजाने प्रतिबद्धता जनाए सँगै नेपाल तर्फ एक कन्टेनर रेडिमेड सामान, ६ वटा माइक्रो हाइलक्स र ८ वटा हाइलक्स गाढी नेपाल भित्रिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनु भयो ।
उक्त बैठकमा स्वास्थ्य सुरक्षा प्रोटोकल सम्बन्धी समग्र व्यवस्थापन स्वास्थ्य कार्यालय रसुवाले मिलाउने, सामान लोड अनलोड गर्ने स्थान निर्माण लगायत सम्पूर्ण व्यवस्थापन सुरक्षा निकायसँगको समन्वयमा रसुवा भन्सार कार्यालयले मिलाउने व्यवस्था गरिएको छ । सिमा नजिकै चिनियाँ भू–भाग तर्फ आइतबार पहिरो गई सडक अवरुद्ध बनेको थियो । केरुङ सडक खुलेपछि चीनतर्फ रोकिएका सामान आयात सुरु भएको हो । पटकपटक रसुवागढी नाकाबाट आयात ठप्प हुँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीन तर्फ रोकिएका छन् । केरुङमा, खासा, न्यालम र सिगात्से गरि १२ देखि १५ सय कन्टेनर सामान गोदाममै थन्किएको व्यापारी धर्म पौडेलले बताएका छन् ।
तयारी कपडा, स्याउ, लसुन, जुत्ता र चप्पल, झोला, चस्मा, इलेक्ट्रोनिक्स, उद्योगका कच्चा पदार्थ, जलविद्युत आयोजनाका सामान, श्रृंगारका सामानहरु थन्किएका छन् । त्यसमाथि सामान बिग्रने, सिजन सकिने लगायत चिन्ता व्यापारी उत्तिकै पिरोलिएको पौडेलको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्