प्रदेश–२ मा सङ्क्रमणमुक्त हुने १२ हजार नाघे

१ सय ५९ जनाको मृत्यु

काठमाडौं- प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् ।

असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।

प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा सङ्क्रमण पुष्टि भएको छ । यिमध्ये १२ हजार २७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिनु भएको हो ।

यो प्रदेशमा कोभिड–१९ महामारीले १५९ जनाको ज्यान गएको छ । सङ्क्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एकहजार ६८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ ।

गतचैतको अन्त्यतिर प्रदेशको पर्सा जिल्लामा आएका तीन भारतीयमा कोभिड–१९ पुष्टि भएसँगै क्रमशः यताका महिनामा सङ्क्रमण बढ्दै गएको हो । चैतदेखि भर्खरै बितेको असोजसम्मको सङ्क्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा सङ्क्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ ।

भदौमा मात्रै पाँचहजारभन्दा माथि सङ्क्रमण पुष्टि भएको थियो । भदौमा सङ्क्रमणले मर्नेको सङ्ख्या पनि सबैभन्दा बढी ६६ भएको निमित्त निर्देशक झा बताउनुहुन्छ ।

महामारीले वैशाखमा ९२, जेठमा एकहजार ९१९, असारमा एकहजार ८९७ र साउनमा तीनहजार ५४ जनामा सङ्क्रमण पुष्टि भएको अभिलेख छ ।

त्यसैगरी असोजमा दुईहजार माथि सङ्क्रमण पुष्टि भएका र ४८ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क अभिलेखले देखाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.