पुरा होला त असहाय सृजनाको पढ्ने रहर ?

रोल्पा-  रोल्पाको त्रिवेणी गाउँपालिका–७ नाङ्गाकी सृजना डाँगी अहिले साहाराको खोजीमा छन् ।

सानै उमेरमा बुवाको मृत्यु भएको र आमाले मानसिक सन्तुलन गुमाएपछि साहाराबिहिन भएकी श्रृजना अहिले सहयोगको याचना गरिरहेकी छिन ।

रोल्पा घर भई उनको परिवार दाङमा ज्याला मजदुरी गरेर जसो–तसो जीवन गुजारा चलाइरहेका थिए। अघिल्लो वर्ष उनको बुवा जङ्ग बहादुर डाँगी दाङकै जङ्गलमा अप्रत्यासीत रुपमा मृत अवस्थामा फेला परे।

कमाउने मुख्य घरमुलीको मृत्यु भएपछि त्यही पिरमा आमाको पनि मानसिक सन्तुलन गुम्यो ।

कति दिन त आमासँगै सडकमै गास सडकमै बास भयो सृजनाको । उनको त्यो अवस्था देखेरआफ्ना काका-काकी पर्ने डिल्ली डाँगी र बबिता डाँगीले घर नजिकको विद्यामन्दिर प्रावि रानागाउँमा कक्षा १ मा श्रृजनालाई भर्ना गरिदिए ।

आफ्नो पनि आर्थिक अवस्था कमजोर भएकाले उनको शैक्षिक सामग्री, विद्यालय पोशाक र दैनिक खाजा भने व्यवस्था गर्न नसकिएको बबिता बताउनुहुन्छ।

नेपालको संविधानले सबै बालबालिकाहरुले पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको भएता पनि सृजनाले भने पढ्न पाउने अधिकारबाट बञ्चित हुने अवस्था छ ।

प्राथमिक तहसम्मको अध्ययनका लागि उनको काका–काकीले गाउँकै सामुदायिक विद्यालयमा भर्ना गरिदिएका छन् । यद्यपि उनको पढाइले निरन्तरता पाउनेमा भने कुनै सुनिश्चितता छैन् ।

उनको पढाइका लागि हालसम्म स्थानीय सरकारले पनि कुनै चासो देखाएको छैन् ।

माध्यामिक तहसम्मको शिक्षा हेर्ने जिम्मा स्थानीय तहलाई भएपनि सृजना जस्ता असहायका बालिकाका लागि भने अहिलेसम्म कुनै निकायले खासै वास्ता गरेका छैनन ।

तर असहाय बालिकाको बारेमा सोही विद्यालयका शिक्षक गंगा चिन्तित बिएमले फेसबुकमा नानीको पढ्ने रहरका बारेमा स्टाटस लेखेपछि भने अहिले सहयोगीहातहरु जुट्न थालेका छन् ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम र शैक्षिक सामग्री, बिद्यालय पोशाक असहाय सृजनालाई हस्तान्तरण गरिएको छ ।

उनको संरक्षण गरिरहनुभएकी बबिता डाँगीको संरक्षकत्वमा रहने गरी विद्यालयको कोषबाट विद्यालय पोशाक, बालकल्याण प्रावि मुलटाकुराका शिक्षक भिमाकुमारी वली, सुबोधमा सुगम फोटो स्टुडियोका सन्चालक कल्पना डाँगीबुढा र अभिभावक उन्नति बुढाबाट पठन पाठनको सामाग्री जुटेको छ ।

यस्तै लिबाङस्थित बालकल्याण माविका शिक्षक कृष्ण डिसी, युवा संघ रोल्पाका संयोजक कृष्ण नेपाली र त्रिपुरेस्वरी मावि खुङ्ग्रीका शिक्षक घनश्याम डाँगीले केही आर्थिक सहयोग गर्नुभएको छ ।

असहाय बालिका श्रृजनालाई पाठ्य सामाग्री हस्तान्तरण गर्दै

बालिकाको सहयोग जुट्ने क्रम जारी रहेकाले फेरि अर्को कुनै कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिने बाल सहयोग कोषका संयोजक गिता कुमारी नेपालीले जानकारी दिनुभएको छ ।

असहाय बालिकालाई सहयोगका लागि वडा हुँदै गाउँपालिकामा सिफारिस गर्ने विद्यालयका प्रधानाध्यापक तथा बाल सहयोग कोषका सदस्य शेर बहादुर पुनले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.