काठेपुल ! हिमाली क्षेत्रका मानिसहरुको खोला तर्ने सहारा

रुकुम पूर्व- हिमाली क्षेत्रका जनता काठको पुल वा बाँसको फड्केबाट खोला वारपार गर्दछन् । गाउँलेहरुले हरेक काम सामुहिक रुपमा मिलेर गर्ने यस्ता काठे पुल थाप्ने चलन कायमै रहेको छ ।

एक पटक बनाएको काठे पुलमा ८-१० वर्षसम्म ढुक्कसँग लाखौं पाइलाहरुले ओहोर दोहोर गर्छन । पुरानो भएर कुहिन थालेपछि गाउँलेहरुले सकेसम्म सामुहिक रुपमा नै यस्ता पुलहरु मर्मत गर्छन् ।

कहिलेकाहीँ ब्यक्तिगत रुपमा खर्च गरेर मर्मत गर्ने सहयोगी मनहरु पनि गाउँमा भेटिन्छन।

खोलाको दुई किनार मात्रै जोडिएको हुँदैन गाउँघरमा हजारौं मान्छेका मन र भावनाहरु यही काठे पुलले जोडिदिन्छ ।

सुख दुखमा जमघट हुने वल्लो पल्लो गाउँका मानिस यस्तै काठे पुलको भरमा वारपार गर्छन। एकलाई दुख्दा अर्कोले साथ दिएर समस्याको समाधान गर्दछन् ।

पछिल्लो समय यस्तै एउटा काठे पुलको मर्मत गरिएको छ- रुकुम पूर्वमा ।

सधैं मानिसहरु आउजाउ गर्ने पुल मकरालिन थालेपछि रुकुम पूर्वको यो पुल मर्मत गरिएको हो ।

पुथा उत्तरगंगाका स्थानीय रामसुर बुढामगरले आफ्नो आमाको स्मृतिमा दाजुभाइ र गाउँलेसँग सहयोग मागेर यो काठेपुल मर्मत गर्नुभएको हो ।

पुल बनाउने मुढालाई खोलातर्फ लैजाँदै गाउँले

करिब २ किलोमिटर टाढाको जंगलबाट डोरीको सहायताले तानेर ल्याइएको काठलाई पुरानो ठाउँमा राखेर यहाँ बलियो पुल बनाइएको छ । गलको सहाराले गुडाउँदै ल्याइएको मुढालाई दिनभर लगाएर पुलको स्वरुप दिन धेरै मानिसहरुको सहयोग थियो ।

पुल तयार भएपछि बुढाले सहयोग गर्ने भान्जा खलकलाई शिरमा पगरी (फेटा) तथा छोरीचेलीहरुलाई रुमाल ओढाएर दान गर्नुभएको थियो ।

 

पुल बनाएछि रमाइलो गर्दै स्थानीय

मगर समाजमा विवाहित छोरीचेली र भान्जा खलकलाई दामसहित काँचो कपडाको दान गरेमा पितृको आत्माले शान्ति पाउँछभन्ने जन विश्वास रहेको छ । पुल तयार भए पछि उनीहरु नाचगानसहित घर फर्केका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.