काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गरे

काठमाडौं– कर्मचारीमा कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । केहीले दसैंको सन्दर्भ पारेर र केही कार्यालयले कोरोना संक्रमणका कारण सरकारी, निजी तथा वित्तीय संस्था बन्द गरेपछि काठमाडौं सुनसान हुन थालेको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम निरन्तर बढेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले असोज २८ गतेबाट र ललितपुर तथा भक्तपुरले कात्तिक २ गतेबाट अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले सेवाग्राही मार्फत कर्मचारीलाई र कर्मचारीमार्फत सेवाग्राहीमा समेत जोखिम बढ्ने भन्दै तीनै जिल्लाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ ।

कार्यालयले अत्यावश्यक मानिएका शान्ति सुरक्षा, विपद व्यवस्थापन लगायतका काम भने निरन्तर जारी रहने जनाएको छ ।

यसैबीच सर्वोच्च अदालत तथा मातहतका अदालतले दसैंको अवसर पारेर कार्तिक १ गते बाट १५ गतेसम्म प्रत्यक्षीकरण बाहेकका सुनुवाइ बन्द गरेको छ । अदालतले हरेक वर्ष दसैंको अवसर पारेर घटस्थापना देखि पूर्णिमासम्म सेवा बन्द गर्ने गरेको छ । बन्दी प्रत्यक्षीकरणको निवेदन माथिको सुनुवाइ भने विजयादशमीको दिन र शनिबार बाहेक सबै दिन सुचारु हुने बताइएको छ । त्यस्तै कतिपय कार्यालयमा कार्यरत कर्मचारीलाई नै कोरोना संक्रमण देखिएपछि निजी तथा वित्तीय संस्था पनि बन्द गरिएको छ ।

यसरी सरकारी, गैरसरकारी तथा वित्तीय संस्था समेत बन्द भएपछि घटस्थापनादेखि नै काठमाडौं सुनसान हुन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.