पोल्याण्डमा कोरोनाको दशाः खेल मैदानलाई अस्पताल बनाइयो

पोल्यान्ड सरकारका अनुसार झण्डै पाँच सय विरामीलाई कोठा पुग्नेगरी पुनर्निमाण भइरहेको हो

पोल्याण्ड– कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ ।

राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय भए अनुसार निर्माण गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । पोल्यान्ड सरकारका अनुसार झण्डै पाँच सय विरामीलाई कोठा पुग्नेगरी पुनर्निमाण भइरहेको हो । ती कोठाहरुमा आवश्यकता परेका विरामीलाई अक्सीजन सहितको व्यवस्था गर्न लागिएको छ ।

तर त्यो अस्पतालका लागि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था भने सरकारले कसरी गर्न सक्छ भन्ने बारेमा अहिलेसम्म पनि अस्पष्ट रहेको छ । पोल्याण्डमा अहिले स्वास्थ्यकर्मीहरुको कमी भएको छ । अस्थायी अस्पताल बनाउन लागिएको रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता रहेको थियो । युरो २०१२ फुटबल च्याम्पीयनसिप सञ्चालन गर्नका लागि यसको निर्माण गरिएको थियो । त्यो प्रतियोगिताका लागि पोल्याण्ड र युक्रेनले व्यवस्थापकीय नेतृत्व गरेका थिए ।

पोल्याण्डमा पछिल्लो केही दिनमा थप सात हजार ४८२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.