देहरादून प्रकरणः घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार

काठमाडौं– सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ ।

नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० जना नेपाली विद्यार्थीमाथि कुटपिट भएको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिनुभयो । प्रवक्ता लम्सालले उत्तराखण्ड बालअधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको र भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता व्यक्त भएको बताउनुभयो ।

नयाँदिल्लीस्थित दूतावासका ‘काउन्सलेर’ प्रकाश अधिकारी हाल नेपालमा रहनुभएकाले पीडित र अन्य विद्यार्थीका अभिभावकसँग उहाँले छलफल गर्नुभएको जानकारी दिँदै प्रवक्ता लम्सालले अभिभावकको चाहनानुसार सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालय तत्पर रहेको बताउनुभयो । उहाँले सम्बन्धित निकायसँग दूतावास र परराष्ट्र मन्त्रालयले निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.