अनुदान लिने अन्तिम समयसीमा तय

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ ।प्राधिकरणको कार्यकारी समितिको बैठकले यससम्बन्धी निर्णय गरेको हो ।

नयाँ समयसीमा अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान संझौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्नेछ ।

त्यसैगरी, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।

सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ बैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिकरणको कार्यावधि नै सकिनँ लागेकोले यो नै अन्तिम समयसीमा हुने बताउनुभयो । ‘त्यसैले, निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीहरुलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन आग्रह गर्दछौं,’ उहाँले भन्नुभयो ।

त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रबलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा निवेदन दिन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.