विदेशमा अध्ययन गर्न जाने घटेसँगै विदेशिने पैसा पनि ह्वात्तै घट्यो

काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९का कारण नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या घटेसँगै वैदेशिक अध्ययनका लागि बाहिरिने विदेशी मुद्रामा समेत कमी आएको छ ।

चालु आर्थिक बर्षको साउन र भदौ महिनामा मात्र २ अर्ब ४७ करोड रुपैयाँ वैदेशिक अध्ययनका लागि विदेशिएको छ ।

तर गत बर्षको सोही अवधीको तुलनामा भने यो रकम निकै कम रहेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

गत बर्षको साउन र भदौ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँ वैदेशिक अध्ययनका लागि बाहिरिएको थियो ।

विदेशमा कोरोनाको संक्रमण बढेसँगै सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान रोकेको थियो । त्यसै कारण वैदेशिक अध्ययन अनुमति पत्र वितरण गर्ने कार्य बन्द गरेको थियो ।

भदौको १४ गतेदेखि मात्र नयाँ अनुमति पत्र वितरण गर्ने कार्य शुरु गरिएकाले यो रकम विदेशमै अध्ययनरत विद्यार्थीका लागि पठाइएको हुन सक्ने केन्द्रिय बैंकले जनाएको छ ।

आर्थिक बर्ष ०७५/०७६ मा ४३ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अध्ययनका लागि विदेशिएकोमा गत आर्थिक बर्षमा यो रकम २५ अर्ब ८१ करोडमा सिमित भएको थियो ।

विश्वभर कोरोना महामारी देखिएपछि फागुन महिनादेखिनै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या घटेको हो । नेपालबाट बर्षेनी हजारौं विद्यार्थी पढ्नका लागि विदेश जाने गरेका छन् ।

अन्तर्राष्ट्रिय उडान शुरु भएपछि र वैदेशिक अध्ययन अनुमति पत्र वितरणको कार्य शुरु हुने र विदेशिने रकम पनि बढ्ने सरोकारवालाहरुको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.