कतारका राजकुमारलाई मुस्लिम आयोगको सम्मान

राजकुमार अब्दुल्लाहले भन्नुभयो– कतारको सुन्दरतामा नेपालीको सहयोग छ

काठमाडौं– नेपाल भ्रमणमा रहनुभएका कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लालाई मुस्लिम आयोगले स्वागत तथा सम्मान गरेको छ ।

आमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लाग्नुभएका कतारका राजकुमार अब्दुल्लालाई आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले काठमाडौंमा भेट गरी मायाको चिनो हस्तान्तरण गर्नुभयो । अन्सारीले राजकुमारको भ्रमणले नेपाल–कतार सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । ‘तपाईंको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश गएको छ,’ अध्यक्ष अन्सारीले राजकुमार अब्दुल्लालाई भन्नुभयो, ‘भ्रमणले नेपाल र कतारबीचको सम्बन्ध सुमधुर हुनेछ भने कतारमा रहेका पाँच लाख भन्दा बढी नेपाली श्रमिकको मनोबल बढ्नेछ ।’

जवाफमा राजकुमार अब्दुल्लाले कतार नेपालप्रति आभारी भएको बताउँदै कतारको सुन्दरतामा नेपालीको सहयोग उल्लेखनीय रहेको बताउनुभयो । उहाँले नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्न आफ्नो मुलुक तयार रहेको बताउनुभयो ।

भेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको उपस्थिति थियो ।

राजकुमारसहित १३ सदस्यीय टोलीले कात्तिक २६ गते बिहान ११ः२० बजे ६ हजार ८१४ मिटर अग्लो आमादब्लमको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

राजकुमारसहितको आरोही टोलीमा ६ आरोही सदस्य थिए । त्यसमा केही अमेरिकी र क्यानडाली पनि सहभागी थिए । त्यस आरोहणमा म्यारेट मेडिसिनको नेतृत्वमा ६ विदेशी र आठ नेपाली सहभागी थिए ।

सन् २००९ देखि नेपाल आउन थाल्नुभएका राजकुमार अब्दुल्लाको यो आठौँ भ्रमण हो । सन् २०१३ मा सगरमाथा आरोहण गर्नुभएका उहाँ तीन पटक त्यस हिमालको आधार शिविर पुग्नुभएको थियो । उहाँ आइतबार स्वदेश फर्कने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.