गोरखाका विकट गाउँमा अनुदानको चामल बिक्नै छाड्यो

गोरखा- गोरखाको धार्चे गाउँपालिकाको माछा खोला डिपोले ढुवानी अनुदानमा उपलब्ध गराउँदै आएको सहुलियत दरको चामल बिक्रि हुन छोडेको छ ।

खाद्य अभाव भोग्दै आएका जिल्लाको धार्चे र चुमनुव्री गाउँपालिकाका बिभिन्न क्षेत्रका नागरिकहरुलाई लक्षित गरी ढुवानी अनुदानको चामल उपलब्ध गराउँदै आएको धार्चे डिपोबाट पछिल्लो २ बर्षदेखि न्युन मात्र चामल बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाका प्रमुख नबिन बस्नेतले जानकारी दिनुभयो ।

पछिल्लो समय गुम्दासम्म सडक पुगेपछि व्यापारीहरुले नै बिक्रीका लागि स्थानीय बजारमा चामल पुर्‍याउन थालेपछि ढुवानी अनुदानको चामल बिक्री हुन छोडेको उहाँले भनाइ थियो ।

एउटै गुणस्तरको बजारको चामल मुल्य भन्दा खाद्य व्यवस्थाले ढुवानी अनुदान उपलब्ध गराउदै आएको चामलको मुल्य महंगो पर्न गएकाले पनि त्यस क्षेत्रका नागरिकहरुले ढुवानी अनुदानको चामल किन्न छोडेका हुन् ।

सोना मनसुली चामल अहिले बजारमा प्रति बोरा १ हजार २ सय ६० रुपैँयामा पाइन्छ। कार्यालय प्रमुख बस्नतेले भन्नुभयो- “त्यही चामल खाद्य व्यवस्थाको माछाखोला डिपोमा प्रतिबोरा १४ सय ४० रुपैँया तिर्नुपर्ने भएपछि डिपोबाट बिक्रि ह्वात्तै घटेको छ ।”

“एक त नागरिकको घरघरमा व्यापारीहरुले चामल पुर्‍याउँछन, अर्कोतिर ढुवानी अनुदानको चामल भन्दा सहुलियत मूल्यमा चामल महंगो पर्ने भएपछि खाद्य व्यवस्थाको चामल बिक्री कम हुनु स्वभाविक नै हो” प्रमुख बस्नेतले भन्नुभयो । “बर्खाका बेला सवारी साधन चल्न नसक्ने अबस्थामा भने बजारको चामल भन्दा ढुवानी अनुदानको चामल अति सस्तो पर्ने भएकाले बर्खामा थोरै बिक्रि हुने उहाँको भनाइ छ ।

यसअघि बर्षमा २५ सय क्विन्टल चालम बिक्रि गर्दै आएको माछाखोला डिपोबाट आर्थिक बर्षमा बल्लतल्ल ८ सय क्विन्टल चामल बिक्रि गरिएको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

ढुवानी अनुदानको चामल बिक्रि हुन छाडेपछि यो बर्षका लागि माछाखोला डिपोको कोटा घटाएर ५ सय क्विन्टलमा झारिएको उहाँले बताउनुभयो । माछा खोला डिपोबाट उत्तरी गोरखाको गुम्दा, उहिया, केरौजा, काशिगाउँ लगायतका क्षेत्रका नागरिकहरुले चामल लैजाने गरेका थिए ।

माछाखोला डिपोले प्रतिकिलो सोना मनसुली चामल ४८ रुपैँयामा बिक्रि गर्दै आएको छ भने जापानिज चामल प्रतिकिलो ४८ रुपैँयामा नै बिक्रि गर्ने गरेको बस्नेतले जानकारी दिनुभयो । यो शाखाले उत्तरी गोरखाका धार्चे र चुमनुव्री गाउँपालिकाका नागरिकहरुलाई लक्षित गरी धार्चेको माछाखोला र चुमनुव्री गाउँपालिकाको सिर्दिबासमा डिपो राखेर ढुवानी अनुदानमा चामल बिक्रि गर्दै आएको छ ।

अहिले पनि सिर्दिबास डिपोबाट भने बार्षिक ४७ सय क्विन्टलसम्म चामल बिक्रि हुने गरेको छ ।

सिर्दिबास डिपोमा सोना मनसुली चामल प्रतिकिलो ५० रुपैँया र जिरामसिनो चामल प्रतिकिलो ६२ रुपैँयामा बिक्रि हुँदै आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.