सार्वजनिक प्रसारण सेवा सम्बन्धी कानूनी प्रकृया अघि बढेको छ- मन्त्री गुरुङ

काठमाडौं- संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै क्षेत्र र वर्गका नागरिकको प्रभावकारी आवाजको पहुँचका लागि रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण सेवाको रुपमा रुपान्तरण गर्न कानूनी प्रकृया अघि बढिरहेको बताउनुभएको छ ।

रेडियो प्रसार सेवा विकास समितिको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित रेडियो नेपालका कर्मचारीहरुकालागि दीर्घसेवा पदक वितरण समारोहमा मन्त्री गुरुङले पुरानो गरिमा र साखलाई कायमै राख्दै रेडियो नेपाल प्रतिस्पर्धी, गुणस्तरीय र प्रभावकारी बन्नुपर्छ भन्नुभयो ।

मन्त्री गुरुङले रेडियो नेपाललाई थप सबल बनाउन र  सुदृढीकरणका लागि उच्च व्यवस्थापन र रेडियोकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।

मन्त्री गुरुङले रेडियो नेपालमा २५ बर्ष स्थायी सेवा पुगेका रेडियोकर्मीहरुलाई दीर्घसेवा पदक र प्रशंसापत्र वितरण गर्नुभयो ।

सोही अवसरमा रेडियो प्रसार विकास समिति रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले प्रविधिमा थप सुधार गरी ९२ प्रतिशत जनसंख्यामा रेडियो नेपालको पहुँच पुर्‍याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले ८७ प्रतिशत जनसंख्यामा रेडियो नेपालको उपस्थिति रहेको बताउनुहुँदै सरकारका नीति निर्देशन र नागरिकका आकांक्षा पुरा गर्ने काममा रेडियो नेपाल लागि परेको धारणा राख्नुभयो ।

रेडियो नेपालले हाल २१ भाषामा समाचार र २० भाषामा कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको छ । रेडियो नेपालले चैत्र २० गते पर्ने स्थापना दिवसको सट्टा कोभिड-१९ को कारण आज दीर्घ सेवा पदक वितरण कार्यक्रमको आयोजना गरेको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.