आधुनिक साजसज्जामा शुक्ल यजुर्वेद पाठ विधिसहितको पुस्तक सार्वजनिक

काठमाडौं- नेपालका अधिकांश वैदिक सनातन हिन्दू धर्मावलम्बीले यज्ञ गर्न प्रयोग गर्ने मन्त्रको स्रोत ‘वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहिता’ को नेपाली प्रकाशनबाट प्रकाशित शुद्ध पुस्तक बजारमा आएको छ ।

वेदपाठको नियमसहित राखिएको यो पुस्तक गुरुकुल प्रकाशन देवघाटले प्रकाशित गरेको हो । पुस्तकको सम्पादन स्वामी केशवानन्द गिरीले गर्नुभएको हो । वेदको पुस्तक पत्रमा प्राचीन खालको हुने भए पनि यो पुस्तक भने ‘डिमाइ साइज’को आधुनिक किसिमको छ । रेञ्जेनको खोलसहितको पुस्तकमा फन्ट पनि आधुनिक प्रयोग गरिएको छ ।

युनिकोडको यो फन्ट पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्ने अभियानमा लाग्नुभएका स्वामी केशवानन्द गिरीले नै विकास गर्नुभएको हो । यसैले फन्टको नाम पनि केएन स्वामी राखिएको छ ।

पुस्तकमा वेद पाठको नियमसहित हात सञ्चालन र उच्चारण विधि पनि उल्लेख गरिएको छ । वेदको भूमिका, पृष्ठभूमिलाई नेपाली भाषामा पुस्तकमा समावेश गरिएको छ । वेदको विषयमा जान्न चाहने पाठकका लागि पनि पुस्तक उपयोगी छ । वेदका कतिपय विषयका पृष्ठभूमि टिप्पणीमा उल्लेख गरिएको छ ।

आकर्षक कागज उपयोग गरेर झोला प्रकारको गातामा सजिएको ३६० पृष्ठको पुस्तकको मूल्य रु ८०० तोकिएको छ । आफूले गुरुकुलमा निःशुल्क पढेको र सन्न्यास लिई सबैका लागि ज्ञान बाँड्ने अभियानमा लागेकाले लागत मात्र उठ्ने गरी मूल्य तोकिएको स्वामी केशवानन्द गिरी बताउनुहुन्छ । वेदको पृष्ठभूमि बुझेर आधुनिक डिजिटल फन्टमा पाठ गर्न चाहनेका लागि पुस्तक उपयोगी छ ।

पुस्तक प्रकाशनसँगै स्वामी केशवानन्दले शुक्लयजुर्वेदको सारस्वरसहितको भिडियो बनाई युट्युब च्यानलमा राख्ने तयारीसमेत गर्नुभएको छ । श्रुतिसमेत भनिने वेदलाई कुनै समय कागजमा लेख्नसमेत नहुने धारणा राखिन्थ्यो ।

गुरुले शिष्यलाई कानमा सुनाएर बाँडिने ज्ञान भएकाले श्रुति परम्पराका रूपमा समेत चर्चित छ ।

आधुनिक युगमा मानिसको व्यस्तता बढेसँगै गुरुबाट वेद सुनेर कण्ठस्थ गर्न फुर्सद स्मरण गर्न सक्ने क्षमतासमेत नहुने भएकाले सारस्वरसहितको भिडियो सार्वजनिक गर्न लागिएको उहाँको भनाइ छ ।

युट्युबमा भिडियो सार्वजनिक भएपछि त्यसकै आधारमा शुद्धरूपमा सारस्वर र उच्चारण विधिसहित वेद पाठ सिक्न चाहनेका लागि पनि उपयोगी हुनेछ । चार÷पाँच जनाको समूहमा यो काम गर्न लागिएको स्वामी केशवानन्द बताउनुहुन्छ ।

यसले गुरुकुलमा वेद पढिरहेका विद्यार्थी र पढाउने गुरुलाई समेत स्रोत सामग्रीको काम गर्नेछ ।

पूर्वीय दर्शनलाई प्रविधिसँग जोड्न लागिपर्नुभएका उहाँले संस्कृत सिक्न चाहनेका लागि संस्कृत भाषामै कार्टुनसमेत बनाउन थाल्नुभएको छ ।

दुई भाग कार्टुन तयार भई सामाजिक सञ्जालमार्फत प्रतिक्रियाका लागि सार्वजनिकसमेत गरिसकिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.