बागलुङमा तङ्ग्रिदै पर्यटन

बाग्लुङ- कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ ।

बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटन सल्वलाउन थालेका छन् । बागलुङमा पनि तङ्ग्रिदै गरेको पर्यटनको प्रभाव छ । धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले पनि विस्तारै गति लिन थालेका छन् ।

महामारीको चपेटामा परेको पर्यटन क्षेत्रको विकासमा स्थानीय, प्रदेश र सङ्घीय सरकारद्वारा विनियोजित कार्यक्रम सञ्चालनको चरणमा प्रवेश गरेका छन् ।

यस वर्ष जिल्लामा पर्यटकीय क्षेत्रको विकास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले १३ वटा उद्यान निर्माणको काम गर्दैछ । यही पुसको १५ बितिसक्दा जिल्लाभर निर्माण हुने उद्यानमध्ये चार वटाको काम शुरु भएको छ । बाँकी उद्यानको नापजाँच र लगत अनुमान तयार गर्ने काम चलिरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

जिल्लाभर छ वटा स्थानीय तहमा ११ वटा उद्यान र २ वटा विद्यालय तथा क्याम्पसमा हरियाली विकास कार्यक्रम चालू आर्थिक वर्षको लागि विनियोजित छन् ।

“उद्यान आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य हुन्, अन्य पर्यटकीय पूर्वाधारसँग जोडेर उद्यानको विकास गर्ने योजनामा छ ” गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल भन्नुहुन्छ, “यो वर्ष पर्यटन क्षेत्रमा विनियोजित सबै बजेटको काम हुनेगरी प्रक्रिया थाल्न निर्देशन दिएका छौं ।”

ताराखोलामा दुईवटा उद्यान बन्ने छन् । शहीद उद्यान, ताराखोला र मोतीमोर बराह पर्यापर्यटन कार्यक्रमका लागि रु १०÷१० लाख बजेट छ ।

मोतीमोर बराह पर्यापर्यटनको काम सम्झौता भएर शुरु भइसकेको कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले जानकारीदिनुभयो । जैमिनी नगरपालिकामा दश लाखमा दुईवटा उद्यान बन्नेछन् ।

पाकोट, हिलपार्क, जैदी र देवल मन्दिर क्षेत्र बिनामारेमा पर्यापर्यटनको कार्यक्रम सञ्चालन हुनेछ । बागलुङ नगरपालिकाको अमलाचौरमा शहीद पार्क, रामरेखामा बिपी स्मृति पार्क, नारायणस्थानमा हरियाली पर्यापर्यटन, रामरेखामा हरियाली उद्यान र कालापानी हरियाली उद्यान निर्माण हुनेछन् ।

बिपी स्मृति उद्यानका लागि पाँच लाख र अन्यमा दश लाख बजेट छ । ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा हरियाली उद्यान बन्ने अधिकारीले बताए । त्यहाँ रु दश लाख बजेट खर्च हुनेछ ।

गलकोटमा भगत सर्वजित हरियाली उद्यान निर्माणका लागि ६ लाख ८३ हजार बजेट छ । जिल्लाभरका विद्यालयबाट प्रस्ताव मागेर पाँचवटा विद्यालयमा विद्यालय परिसर हरित प्रवद्र्धन कार्यक्रम र विद्यालय तथा कलेजमा हरियाली उद्यान निर्माणको कार्यक्रम सञ्चालन हुनेछन् । दुवै योजनाका लागि जम्मा रु २० लाख बजेट रहेको उहाँले बताउनुभयो ।

पर्यटकीय गतिविधि बढाउने र युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा समेट्ने योजनाअन्तर्गत प्रदेशले उद्यान विकासका कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री लम्साल बताउनुहुन्छ ।

स्थानीय तहसँगको सहकार्यमा सबै योजनाको काम उपभोक्ता समितिले गर्नेछन् । हालसम्म डिभिजन वन कार्यालयमा रहेको तथ्याङ्कअनुसार चार वटा योजनाको मात्रै सम्झौता भएको छ ।

बाँकी योजनाको उपभोक्ता समिति गठन र योजना सम्झौताका लागि आवश्यक प्रक्रिया थालेको उहाँले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.