सूचनाको अधिकारबारे चेतना जगाउँदै आयोग

काठमाडौं– राष्ट्रिय सूचना आयोगले सूचनाको अधिकारबारे जनचेतना जगाउन अभियान सञ्चालन गरिरहेको छ ।

आयोगको आयोजना तथा नमोबुद्ध नगरपालिकाको समन्वयमा सूचनाको हकका विषयमा काभ्रेमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले जनतालाई अधिकार सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्यले सूचनाको हकसम्वन्धी व्यवस्था गरिएको बताउनुभयो । उहाँले नगरपालिका अन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था लगायत सबै निकायमा सूचना अधिकारीको व्यवस्था हुनुपर्ने, तीन महिनामा भए गरेका कामको विवरण सार्वजनिक गर्नुपर्ने बताउँदै नागरिकले मागेका सूचना उपलव्ध गराएपछि स्थानीय तह नै बलियो बन्ने बताउनुभयो ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालालाई सूचनाको हकका विषयमा जानकारी गराउने र सूचनाको हकको व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

यसैबीच आयोगले वैयक्तिक स्वतन्त्रता, मानव अधिकार लगायतका विषय र सूचनाको हकका बारेमा धादिङमा अन्तर्क्रिया सम्पन्न गरेको छ ।

धादिङको थाक्रे गाउँपालिकामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा आयोगका आयुक्त कमला ओली थापाले वैयक्तिक स्वतन्त्रताको सर्वोच्चता सूचनाको हक भएको बताउनुभयो । आयुक्त थापाले नागरिकलाई सर्वशक्तिमान बनाउन सूचनाको हकको अधिक उपयोग गर्न पनि आग्रह गर्नुभयो ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, समुदाय र समूहका लागि आयोजना गरिएको अन्तर्क्रियामा सूचनाको हक र सामाजिक न्यायका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.