समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चारमाध्यमले सदैव समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्न आग्रह गर्नुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले मुलुकमा धेरै सम्भावना छ भन्ने आशा जगाउने खालका दृष्टिकोणमा केन्द्रित भएर समाचार प्रवाह गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का पदाधिकारीसँग सिंहदरबारमा भएको सामूहिक भेटमा उहाँले बदलिँदो राजनीतिक परिवेशप्रति सङ्केत गर्दै समाजलाई निराशा, द्वन्द्व र अराजकतातर्फ जान नदिन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “मुलुकमा धेरै सम्भावना छन्, ती सम्भावनाप्रति आशावादी हुँदै समाजप्रति निराशा होइन, द्वन्द्व होइन, अराजकता होइन, नयाँ आशा जगाउने काममा सञ्चारमाध्यमहरुले प्रेरित गर्नुपर्दछ ।” समाजलाई सही बाटामा अघि बढाउने खालका दृष्टिकोणका पक्षमा उभिएर मात्रै व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्न सकिने उहाँको भनाइ थियो ।

मन्त्री गुरुङले कुनै पनि सङ्घसंस्थामाथि विभेद हुन नदिइने प्रतिबद्धता गर्नुभयो । फोनिजले मन्त्रालयबाट पाउने अनुदान सहायता कटौती नगर्न, सरकारी सञ्चारमाध्यमको समाचार कक्ष तथा प्रशासनिक संरचनालाई पूर्ण समावेशी बनाउनुपर्नेलगायत ११ बुँदे माग गर्दै मन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको थियो ।

उक्त ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले राज्य सबैको साझा भएकाले कुनै पनि खालको विभेद हुन नदिइने स्पष्ट पार्नुभयो । सो अवसरमा फोनिजका अध्यक्ष डण्ड गुरुङ, इन्डिजिनियस कम्युनिटी नेटवर्कका अध्यक्ष जगत दोङ, मन्त्री गुरुङका सञ्चारविज्ञ राजेन्द्र मानन्धरलगायतको उपस्थिति थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.