कोटेश्वर–जडीबुटी सडक विस्तार सुरुः सडक विस्तारसँगै सवारी आगमनमा सहज हुने

काठमाडौं- काठमाडौंको कोटेश्वर–जडिबुटी सडकखण्डको जाम हटाउन सरकारले सडक विस्तार गर्ने कार्य शुरु गरेको छ ।

तत्कालका लागि सवारी साधनको जाम हटाउन जडिबुटी चोकमा दायाँबायाँ दुवै भागमा सडक बिस्तार गर्न लागिएको हो ।

त्रिभुवन विमानस्थलको केही जग्गा प्रयोग गरी सडक विस्तार गर्न लागिएको हो । यसका लागि उडान र सडक सुरक्षामा अवरोध नहुनेगरी निर्माणको काम अघि बढाइएको छ ।

उपत्यकाको बढ्दो ट्राफिक चाप कोटेश्वर क्षेत्रमा बढिरहेकाले सरकारले ट्राफिक चापलाई सहजिकरण गर्न दीर्घकालीन र अल्पकालीन योजना अगाडी सारेको हो ।

विस्तार गर्न लागिएको सडकमा पर्ने ६ आना १ पैसामा बनेको घर अधिग्रहण गर्न सरकारले स्वीकृति दिइसकेको छ । सडक विस्तारसँगै यो सडक खण्डबाट बाहिरिने सवारी साधनलाई यात्रामा सहजीकरण हुने छ ।

सडकको उत्तरी भागमा साढे ३ मिटर फुटपाथ सहितको १ लेन सडक र दक्षिणमा २ लेन सहितको सडक विस्तार गर्ने योजनासहित काम भैरहेको छ ।

सरकारले आगामी आर्थिक वर्षभित्रै डेडिकेटेड सडक विस्तार गर्ने गरी काम सुरु गरेको सडक विभागका महानिर्देशक केशव शर्माले जानकारी दिनु भएको छ ।

यो सडक विस्तारसँगै तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला जाने र भक्तपुरबाट कोटेश्वर हुँदै सातदोबाटो जाने सवारीसाधनले जाममा बस्नुपर्ने छैन भने सडक विस्तारसँगै सवारी आगमन सहज हुने छ ।

दीर्घकालीन योजनामा भने सरकारले तीनकुनेबाट विमानस्थलको धावनमार्गको तलबाट सुरुङ मार्ग निमार्ण गर्न वा तीनकुनेबाट कोटेश्वर सडकभन्दा अगाडिसम्म फ्लाइ ओभर बनाउनका लागि आवश्यक अध्ययन भइसकेको सडक बिभागले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.