राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट माघे संक्रान्तिको शुभकामना

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायले मनाउने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक-सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्बर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताउनुभएको छ ।

माघे संक्रान्तिको अवसरमा दिनु भएको शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले संविधानको संरक्षण र पूर्णपालनाका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिनु भएको छ ।

नेपालका मगर, थारु र छन्त्याल लगायतका आदिवासी जनजाति समुदाय लगायत सम्पूर्ण नेपालीको महत्वपूर्ण चाड माघेसङ्क्रान्ति, माघी पर्वले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको तथ्य स्वत: सिद्ध हुने उपराष्ट्रपति पुनले उल्लेख गर्नु भएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना ब्यक्त गर्नु भएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले माघीलाई थारु जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रुपमा लिइने उल्लेख गर्दै देशको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उल्लेख गर्नु भएको छ ।

नेपालमा प्रचलित चाडपर्वहरु विविधताका बहुमूल्य सम्पत्ति हुन भन्दै प्रधानमन्त्रीले विविधताबीच सुदृढ एकता र सहिष्णुताको यस पूँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनु भएको छ ।

राष्ट्रको सुदृढ एकताकै जगमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस उत्सवले राष्ट्रनिर्माणमा थप प्रेरणा मिल्ने विश्वास ब्यक्त गर्नु भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.