प्रधानमन्त्रीसँग कोप-२६ टोलीको भेट

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले भेट गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा टोलीले नेपालको मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुका बारेमा प्रधानमन्त्रीसँग जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यसबारे अध्ययन गर्न कोप-२६ इच्छुक रहेको समेत टोलीले प्रधानमन्त्री ओलीसँग बताएको थियो ।

मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको टोलीले बताएको थियो । यसका लागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी प्रधानमन्त्रीसमक्ष टोलीका प्रमुख शर्माले राख्नुभएको प्रेस सल्लाहाकार थापाले जानकारी दिनुभयो ।

नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि २०५० सम्मका लागि बनाएको योजना राम्रो रहेको भनाइ टोली प्रमुख शर्माको थियो ।

प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले कोप-२६ टोलीले सम्मेलनपूर्व भ्रमण गर्ने मुलुकमा नेपाललाई समेत समावेश गरेकोमा धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरु र यससम्बन्धी सरकारका प्रतिबद्धताबारे टोलीलाई जानकारी दिनुभएको थियो ।

गतवर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित सगरमाथा संवाद कार्यक्रम आगामी दिनमा आयोजना गरिने जानकारी पनि प्रधानमन्त्री ओलीले सो अवसरमा जानकारी दिनु भएको उहाँका प्रेस सल्लाहाकार थापाले बताउनुभयो ।

आगामी नोभेम्बर महिनामा बेलायतको ग्लासगाउमा मौसम परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सन् २०२० को नोभेम्बरमा तय भएको यो सम्मेलन कोभिड-१९ प्रकरणका कारण एक वर्ष पर सारिएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.