मुख्यमन्त्री राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश
विराटनगर- प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा टेबुल गरिएको छ ।
आज बसेको प्रदेश १ को सातौं तथा हिउँदे अधिवेशनमा सत्तापक्षका मन्त्री तथा सांसदहरुको अनुपस्थितिमा नेकपा प्रचण्ड-नेपाल समूहका प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव टेबुल गर्नुभएको हो।
प्रस्ताव टेबुल भएसँगै प्रदेश सभाको अर्को बैठक फागुन २० गते बिहिवार १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
दिउँसो २ बजेका लागि बोलाइएको बैठक करिब ४ बजे मात्र शुरु भएको थियो ।
बैठक शुरु गर्ने विषयमा सभामुख प्रदीप भण्डारीको उपस्थितिमा विभिन्न चरणमा छलफल भएपनि सत्तापक्षका मन्त्री तथा सांसदहरु अनुपस्थित भएका थिए ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नेकपा अहिले पनि कानुनी रुपमा एउटै भएको र दल भित्रको कानुनी समस्या समाधानको माग गर्दै सभामुखलाई पत्र दिइएको जानकारी दिनुभयो ।
अविश्वास प्रस्ताव टेबुल भएपछि नेकपा प्रचण्ड माधव समूहका नेता भीम आचार्यले अविश्वासको प्रस्ताव संसदको विषय भएकाले सत्तापक्षको उपस्थिति नहुँदा पनि प्रस्ताव गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
नेकपा प्रचण्ड माधव समूहका ३७ जना सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध गत पौष १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएकोमा हस्ताक्षर गरेका ५ जना प्रदेश सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छन् ।।






प्रतिक्रिया राख्नुहोस्