सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं- सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ ।

वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गर्नुभएको हो ।

नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ । मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

“बिनाआधार कारण थुनामा राखेकामा यसअघि पनि बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएकामा निज मुक्त नभई हालसम्म थुनामा रहेको देखिन्छ, अदालतका रजिष्ट्रारको रोहवरमा गैरकानूनी थुनामा राखिएका बाँस्तोलालाई थुनाबाट मुक्त गरिदिनु”, आदेशमा भनिएको छ ।

यसअघि गत माघ १५ गते र २२ गते थुनामुक्त गराउन अदालतले आदेश जारी गरेको थियो तर अदालतको आदेशलगत्तै नेता बाँस्तोला पक्राउ पर्नुभएको थियो ।

चन्द समूहका पश्चिम कमाण्ड इन्चार्ज रहनुभएका बाँस्तोलाको तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलामाथि नक्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.