सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कांग्रेस झापाका नेता डा उप्रेतीको शनिबार राति ८८ वर्षका उमेरमा काठमाडौँमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको जनाउनुभएको छ । सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । विसं २०४६ को परिवर्तनपछि कांग्रेसका तर्फबाट छ वर्षसम्म राष्ट्रियसभाका सदस्य रहनुभएका उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक कारागार भोग्नुभएको थियो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका उप्रेतीले चिकित्सकका रुपमा विसं २०१८ मा कैलालीको धनगढीबाट सेवा शुरु गरेर पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरी करीब ५० वर्ष चिकित्सा सेवा गर्नुभएको थियो ।

आर्थिक रुपले सामान्य स्थितिमा रहेका जोकोही नागरिकले उहाँबाट निःशुल्क उपचार पाउने गरेका थिए ।
उहाँको आजै पशुपतिमा दाहसंस्कार गरिएको छ ।

स्व उप्रेतीका छोरा प्रा डा सञ्जीव उप्रेती हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.