विद्यालय चरित्र निर्माण गर्ने थलो भएकोले शैक्षिक सुधार गर्न राष्ट्रपतिको निर्देशन

काठमाडौं- सार्वजनिक शिक्षामा सरकारले लगानी गरे अनुसार विद्यालय स्तरको शैक्षिक गुणस्तर नतिजामुखी नभएको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले शिक्षाको सुधार र प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालय लगायत सरोकारवालाहरुलाइ निर्देशन दिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक शिक्षामा सरकारले लगानी गरे अनुसार विद्यालय स्तरको शैक्षिक गुणस्तर नतिजामुखी नभएको प्रति चिन्ता व्यक्त गर्दै शिक्षाको सुधार र प्रभावकारी कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रपति भवन शितलनिवासमा आयोजित मन्त्रालय लगायत विद्यालय तहको शिक्षाका सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले चरित्रवान विद्यार्थी बनाउने थलो विद्यालय नै भएकोले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सबै शिक्षासँग सरोकार राख्ने निकायहरु जिम्मेवार र इमान्दारीपूर्वक गुणस्तरीय शिक्षामा लाग्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले शिक्षा र स्वास्थ्य जस्तो आधारभूत आवश्यकतामा वर्ग विभेद हुन नहुने बताउँदै सार्वजनिक विद्यालयको सुधार, व्यवस्थापन र आकर्षण बढाउन सामाजिक र नैतिक शिक्षाका लागि राष्ट्रिय खेलकूद परिषद, राष्ट्रिय सेवा दल, नेपाल स्काउट जस्ता निकायहरु समन्वयात्मक ढङ्गबाट लाग्नुपर्ने बताउनुभयो ।

लामो समयदेखि आफू देश बनाउने अभियानमा लागिपरेको बताउनुहुँदै राष्ट्रपति भण्डारीले गुणस्तरीय र नतिजामुखी शिक्षाका लागि व्यवहार र कार्यान्वयमा कमजोरी भएकोले यसमा सुधार गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षामा आमूल सुधारको खाँचो औंल्याउनुहुँदै सामुदायिक विद्यालयहरुमा भएका कमी कमजोरी र विकृति विसंगति हटाइ सुधारोन्मुख विद्यालय व्यवस्थापनका लागि मन्त्रालय लागिपरेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले विद्यालयहरुमा हुने हिंसा नियन्त्रणका लागि अभियान नै संचालन गर्नुपर्ने, शिक्षाको गुणस्तरका लागि शिक्षक, अभिभावक र शिक्षासँग सरोकार राख्ने सबै निकायहरु जिम्मेवार बन्नुपर्ने, प्रविधिमैत्री र जीविकोपार्जन शिक्षामा जोड दिनुपर्ने र आवश्यक परे शिक्षा नीतिमा समेत सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।

जातिय विभेद, छुवाछुत अन्त्य गरी पठन संस्कृतिमा सुधार गर्न कार्यान्वयन पक्ष कमजोर भएको ‍औंल्याउँदै सहभागीहरुले विद्यालयहरुमा लैङ्गिक वातारण र पाठ्यक्रममा सुधार गर्दै विद्यार्थीमा भएको क्षमता प्रस्फुटनका लागि भौतिक पूर्वाधारमा समेत जोड दिनुपर्ने बताउनुभयो ।

कूल करिव ८४ लाख विद्यार्थीहरुमध्ये झण्डै ६६ लाख विद्यार्थीहरु सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.