पोखरा रङ्गशालामा प्रधानमन्त्री ओलीका एक घण्टा… (फोटो फिचरसहित)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यस्त समय तालिकाका बीच सोमबार पोखरा रङ्गशालाको निरीक्षण गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनका लागि पोखरा आउनुभएका उहाँ सभागृहमा पार्टीको भेलालगत्तै दिउँसो फुटबल रङ्गशालाको अवलोकनमा पुग्नुभएको थियो । मुलुकको प्रमुख कार्यकारी रङ्गशाला आउने खबर पाएपछि उत्साहित खेलाडी, खेल पदाधिकारी तथा प्रशिक्षक उहाँको स्वागतमा प्रवेशद्वारमा राष्ट्रिय झन्डा फहराउँदै उपस्थित भइसकेका थिए । प्रधानमन्त्री ओली रङ्गशालामा आएपछि आफ्नो खेल पोशाकमा उपस्थित खेलाडी तथा प्रशिक्षकले हातमा लिएको राष्ट्रिय झन्डा फहराए र प्रधानमन्त्रीको भव्य स्वागत गरेका थिए । उहाँको स्वागतमा रङ्गशालामा बाजागाजाको व्यवस्था मिलाइएको थियो ।

प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तराष्ट्रियस्तरको फुटबल रङ्गशालामा बसेर रङ्गशालाभित्र निर्माण सम्पन्न भएका खेल पूर्वाधार तथा निर्माणाधीन पूर्वाधारका बारेमा जानकारी लिनुभएको थियो । सुन्दर अन्नपूर्ण हिमश्रृङ्खलाको पृष्ठभूमिमा बन्दै गरेको रङ्गशालालाई एशियाली फुटबल महासङ्घ(एएफसी)ले एशियाको उत्कृष्ट रङ्गशाला भनेर आफ्नो वेवसाइटमा राखेको छ । प्रधानमन्त्री ओलीलाई आयोजकले सोही रङ्गशालाको सुन्दर तस्बीर ‘मायोको चिनो’ स्वरुप उपलब्ध गराएका थिए ।

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले पोखरा रङ्गशालाको गुरुयोजना (मास्टर प्लान) तथा खेल पूर्वाधारका बारेमा जानकारी गराइरहँदा प्रधानमन्त्रीले त्यसलाई रुचिपूर्वक सुन्नुभएको थियो । रङ्गशालाभित्रका भलिबल कोर्ट, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्डहल, क्रिकेट मैदान, आर्चरी मैदान, टेनिस कोर्ट, ह्याडबल, स्क्वासलगायत खेल पूर्वाधार तथा समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई सदस्यसचिव सिलवालले जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले रङ्गशालामा उपस्थित खेलाडी, खेल पदाधिकारी तथा प्रशिक्षकलाई सम्बोधन गर्दै गत वर्ष १३ औँ दक्षिण एशियाली खेलकूद(साग)का केही खेल पोखरामा सफल सञ्चालनबाट ठूलो उपलब्धी हासिल भएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “अहिले खेलकूद आयोजना गर्न मिल्ने गरी रङ्गशाला निर्माण भएको १३औँ सागको आयोजनाले पनि देखाएको छ, यसबाट नेपाल, गण्डकी प्रदेश र पोखराले ठूलो उपलब्धी हासिल गरेकोमा म गण्डकी प्रदेश र पोखरालाई बधाई भन्न चाहन्छु ।”

प्रधानमन्त्रीले पोखरा रङ्गशालालाई अस्थायी रुपमा मात्र नभई सम्पूर्ण हिसाबले तयारी अवस्थामा राख्नुपर्ने बताउँदै आवश्यक खेल पूर्वाधार निर्माणमा सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

“स्वीमिङ,आर्चरी (धनुवाण), पौडी पोखरी निर्माण गर्ने योजनामा केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने काम गरिनेछ । सातै प्रदेशमा रङ्गशाला निर्माण गर्ने योजना सरकारको छ । कतिपय ठाउँमा बनिरहेको पनि छ ।” उहाँले भन्नुभयो, “पोखरा रङ्गशाला निर्माणलाई पूर्णता दिन सरकारको तर्फबाट गर्नुपर्ने कुरा मलाई बताउनुभए हुन्छ, म प्रतिबद्ध छु । यसको अग्रसरता प्रदेश सरकार र खेलकूद परिषद्ले लिनेछ ।”

पूर्वाधार, राम्रा प्रशिक्षक, आवश्यक खेल सामग्री, खेलाडीलाई प्रोत्साहन र सुविधाका लागि सरकारले प्रारम्भ गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकूदका ५१ स्वर्ण विजेता खेलाडीलाई सहित २०७ पदक विजेता खेलाडीलाई सम्मान गरेको बताउनुभयो । खेलाडीले इमान्दाररुपमा खेल खेल्दा र सिक्दा कसैले पनि उछिन्न नसक्ने बताउँदै खेलाडीलार्ई अनुशासनमा रहेर मिहिनेत गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “इमान्दाररुपमा खेल्नुहोस्, सिक्नुहोस् । सही, उचित र ठीक ढङ्गबाट प्रयास गरिराखे मात्र सफलता प्राप्त हुन्छ ।”

सदस्यसचिव सिलवालले अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला, स्वीमिङ पुल, सुटिङ रेन्च तथा क्रिकेट मैदानमा प्यारापिटलगायतका खेल पूर्वाधार बजेट अभावमा अघि बढ्न नसकेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो । रङ्गशालामा हालसम्म भएका भौतिक प्रगतिका बारेमा जानकारी गराउन प्रधानमन्त्रीको रङ्गशाला अवलोकन कार्यक्रम तय गरिएको सदस्य चिव सिलवालले बताउनुभयो । आगामी नवौँ राष्ट्रिय खेलकूद विसं २०७८ भित्रमा गण्डकी प्रदेशमा हुने भएकाले कतिपय खेल पूर्वाधार बजेट अभावमा रोकिएकाले सरकारबाट निकासा भएको खण्डमा तिनले पूर्णता पाउने सिलवालले बताउनुभयो ।

राष्ट्रिय खेलकूदअन्तर्गत गण्डकीका सबै जिल्लामा कम्तीमा एउटा खेल खेलाउने योजना रहेकाले बाँकी पूर्वाधार छिटो निर्माण गर्नुपर्ने अवस्था रहेको राखेप सदस्य राजेश गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको रङ्गशाला निरीक्षणबाट पूर्वाधार विकास र खेल पर्र्यटन अभिवृद्धिमा महत्वपूर्ण योगदान पुुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.