संविधान र लोकतन्त्रलाई केन्द्रमा राखेर निर्णय लिने काँग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं- नेपाली कांँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको हिजो बसेको बैठकले संयमता र एकताका साथ मुलुक र संविधानको दूरगामी भविष्य तथा जनताको अपेक्षानुसार निर्णय लिने निष्कर्ष निकालेको हो ।

बैठकमा संवैधानिक, राजनीतिकलगायत विभिन्न कोणबाट छलफल भएको र समग्रमा कांग्रेसले लिने निर्णयले संविधान र लोकतन्त्र जनतालाई केन्द्रमा राख्नुपर्ने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा कांग्रेसले धैर्यतापूर्वक नहातिरिएर निर्णय लिनुपर्नेमा नेताहरुको एकमत रहेको उहाँले बताउनुभयो ।

यही फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने जिज्ञाशामा उहाँले शुक्रबार बस्ने पार्टीको संसदीय दलको बैठकमा सांसदको राय–सुझाव लिएर निर्णय लिइने बताउनुभयो ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा रामशरण महत, प्रवक्ता शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.