नेपालमा आजदेखि हिंसात्मक द्वन्द्व अन्त्य भएको प्रधानमन्त्रीको घोषणा

‘आजको कामको ठूलो उपलब्धी भनेको हिंसात्मक गतिविधि छैन, शान्ति छ भन्ने हो’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आजदेखि हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गर्नुभएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग शुक्रबार काठमाडौंमा तीन बुँदे सम्झौता भएपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभयो । ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन,’ उहाँको भनाइ थियो, ‘आजको कामको ठूलो उपलब्धी भनेको नेपालमा हिंसात्मक गतिविधि छैन, शान्ति छ भन्ने हो ।’

नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल : सुखी नेपाली’ नारालाई सफल बनाउन शान्तिपूर्ण वातावरण चाहिने प्रधानमन्त्रीको भनाइ छ । ‘शान्ति, निर्भय र शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने नेपाली जनताको चाहना पूरा भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ ले शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने ऐतिहासिक कदम चाल्नुभएकोमा बधाई र शुभकामना व्यक्त गर्नुभयो । ‘उहाँले एउटा कदमबाट नेपाली जनताको मन जित्नुभएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘यो उहाँको साहसिक कदम हो । जो सुकैले कार्यकर्तालाई कार्यदिशा मोडेर गर्न यति साहसिक निर्णय लिन सक्दैनन् ।’

प्रधानमन्त्रीले विप्लवले आफ्नो कार्यदिशालाई सहज अवतरण गर्नुभएको टिप्पणी गर्नुभयो । ‘यो फोर्स ल्यान्डिङ र क्र्यास ल्यान्डिङ होइन,’ उहाँको भनाइ थियो, ‘सेफ ल्याडिङ हो ।’

विप्लवसँग ८ वर्षअगाडिदेखि सम्बन्ध रहेको स्मरण गर्दै प्रधानमन्त्रीले तीन बुँदे सहमति रातारात नभएको जानकारी दिनुभयो । ‘रातारात होइन,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘वर्षौंदेखिको प्रयासबाट सम्भव भएको हो ।’

तीन बुँदे सहमतिप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै कुनै समस्या आए वार्ताबाट समस्या समाधान गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.