संगठनात्मक कार्ययोजना प्रस्ताव गर्न माओवादी केन्द्रले बनायो कार्यदल

काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले पार्टीको संगठनात्मक कार्ययोजना प्रस्ताव गर्न कार्यदल गठन गरेको छ ।

सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएसँगै पार्टीको संगठनात्मक कार्ययोजना प्रस्ताव गर्न माओवादी केन्द्रले चार सदस्यीय कार्यदल बनाएको हो । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले गठन गरेको कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र गिरिराजमणि पोखरेल रहनुभएको छ ।

कार्यदलले देशभरिकै पार्टी कमिटी, जनवर्गीय संगठनलगायतको अवस्थाबारे विस्तृत अध्ययन गरी आगामी चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा सुझाव पेस गर्ने जनाइएको छ । बैठकमा विभिन्न पार्टीसँगको छलफलका बारेमा अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै पार्टीको केन्द्रीय कमिटी चैत्र १ गते र भेला दुई गते हुने भएकाले भेलामा सहभागी हुनेको मापदण्डको निर्धारण पनि गरिएको श्रेष्ठले बताउनुभयो ।

माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थनबारे छलफल गरेपनि टुंगो लगाएको छैन । बैठकले माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सचेतकमा देव गुरुङलाई नै कायम राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.