सबैभन्दा लामो झोलुङ्गे पुलको नाम राख्ने र परिचय दिने अभियान शुरु

काठमाडौं- कालीगण्डकी नदीमाथि बनेको लामो पुल । सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारसँग जोडिएको पाङ गाउँलाई जोडेकाले यो पुलको आफ्नै महत्व छ । ‘सिङ्गल स्पान’ प्रविधिमा ५६७ मिटर लामो बनेको संसारकै लामो पुलको भएको भन्दै ‘गिनिज बुक अफ द वर्ड’मा दाबी प्रस्तुत गरेको बागलुङ नगरपालिकाले यो पुललाई आफ्नै परिचय दिने अभियान पनि शुरु गरेको छ । पुलको बागलुङतर्फ नजिकै रहेको प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिर, छेवैमा बन्दै गरेको बाङ्गेचौर रङगशाला, शालिग्राम बग्ने प्रसिद्ध कालीगण्डकीको महिमा र ज्योतिशहरूको गाउँ पाङलगायत महत्वपूर्ण क्षेत्रसँग जोडिएकाले यो पुलको विशेषता र महत्व निकै फराकिलो छ ।

पुललाई लामो पुलको रुपममा मात्रै परिचित गराउनुभन्दा आफ्नै नाम दिएर पर्यटन प्रबद्र्धनमा योगदान दिन नगरपालिकाले प्रक्रिया थालेको हो । पुलको नामकरणका लागि पेश भएका नामबाट उत्कृष्ट नाम छनोटका लागि बागलुङ नगरपालिकाले छनोट समिति गठन गरेको छ । लामो झोलुङ्गे पुलको नामकरणका लागि नगरपालिकाले सार्वजनिक सूचना गरेको थियो । सूचनाका आधारमा प्राप्त भएका नाममध्येबाट आर्थिक सांकृतिक र अन्तर्राष्ट्रिय महत्व झल्कने हिसाबले उपयुक्त तीन नाम सिफारिस गर्न नगरले सिफारिस समिति बनाएको हो । नामकरण गर्नेलाई रु २५ हजार पुरस्कार दिइने नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

सिफारिस समितिका संयोजकमा नगर उपप्रमुख सुरेन्द्र खड्का रहनुभएको छ । समितिको सदस्यमा सह–प्रध्यापक विष्णुप्रसाद मैत्रेय, देवबहादुर श्रेष्ठ, पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीष, कुश्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदी र नगरका सूचना अधिकारी युक्तप्रसाद सुवेदी रहनुभएको छ । नगरले सार्वजनिक गरेको सूचनाका आधारमा अनलाइन र कार्यालयमार्फत दर्जनौं नाम प्राप्त भएका छन् ।

ती नामबाट छनोट समितिले तीन नाम नगरपालिकालाई सिफारिस गर्ने छ । एउटा उत्कृष्ट नाम नगरपालिकाले छनोट गरेर पुलको नामाकरण गर्ने नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । पुलको नामकरण पश्चात् बागलुङको प्रचार र पर्यटनमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ । पर्वतको पाङ र बागलुङ बजार ओहोरदोहोरमा सहजताका लागि बनाइएको पुल उद्घाटन पश्चात् आन्तरिक पर्यटकको रोजाइँमापर्ने गरेको छ । यो पुलमा दैनिक हजार बढी पर्यटक आउने गरेको नगरपालिकाको दाबी छ । पुलबाट देखिने हिम शृङ्खला, कालीगण्डकीको बहाव र हरियाली डाँडाकाँडाले शहरीया जनजीवनमा आत्तिएका आन्तरिक पर्यटकलाई भुलाउने गरेको छ ।

भित्री सडकमा पक्की नाली

गलकोट नगरपालिका ३ हटियाको पुरानो बजारमा पक्की नाली निर्माण गरिएको छ । बजार क्षेत्रको सरसफाइका लागि नाली निर्माण गरिएको हो । नाली अभावमा वर्षात्मा हिलाम्मे हुने तथा पानीको पोखरी जम्ने समस्या थियो । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय बागलुङको रु ६० लाखको लगानीमा ४०० मिटर नाली बनाइएको हो । दुई वर्ष अघिदेखि यहाँको पुरानो बजारमा नाली निर्माण थालिएको थियो । डिभिजनको लगानीमा बनेको नाली चालू आर्थिक वर्षमा सकिने बजार व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दसिंह भण्डारीले बताउनुभयो ।

“नाली अभावले धेरै समस्या थियो, अब भित्रि गल्ली कालोपत्र गर्नका लागि पनि सहज बन्दै गएको छ” भण्डारीले भन्नुभयो, “गलकोट नगरपालिकाले चालू वर्षनै यहाँ सडक कालोपत्र र ढलानको योजना बनाएको छ ।” नगरप्रमुख भरत शर्मा गैरेले केही दिनमा पक्की नालीको काम सम्पन्न भएपछि सडक पक्की गर्ने काम थालिने बताउनुभयो ।

पक्की सडक अभावमा खाल्डाखुल्डीले पुरानो बजारमा सवारी गुड्न पनि समस्या थियो । पक्की सडक बनेपछि भने सहज बन्ने उपभोक्ताले बताएका छन् ।

चालू वर्ष रु एक करोडको लागतमा झण्डै एक किमी सडक ढलान गरिने योजना रहेको गैरेले बताउनुभयो, “हामीले रु ७० लाख विनियोजन गरेका छौँ, त्यसमा ३० प्रतिशत उपभोक्ताले श्रमदान वा अन्य लगानी गर्नुपर्छ” गैरेले भन्नुभयोे, “लोकतन्त्रचोकदेखि श्रेष्ठ चोकहुँदै राजमार्ग चोकसम्मको काम चालू आर्थिक वर्ष सकिनेछ ।” यो सडक बनेपछि हटिया बजारमा दोहोरो सडक हुनेछ । मुख्य राजमार्गमा ठूला सवारीसाधन चले पनि भित्रि सडकमा जीप र अन्य साना सवारीसाधन चल्न सक्नेछन् ।

पक्की सडक अभावमा पुरानो बजारमा व्यवसाय चल्न छाडेको स्थानीयवासीले गुनासो गर्दै आएका थिए । गलकोटकै गौंँदीखोलामा पक्की पुल बनेपछि हरिचौरतर्फ जाने सडकको विस्तार र मर्मत पनि गरिँदै छ । पुल निर्माण गरेको ठेकेदार कम्पनीले केही अप्ठ्यारो खण्डमा पक्की पर्खाल लगाएर सडक निर्माण गरेको हो । यो सडक चौडा पार्ने तयारी भएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर नारायण पौडेलले बताउनुभयो । यो सडक चौडा भएमा हरिचौर हुँदै ताराखोला जाने सडक पनि व्यवस्थित हुनेछ । गण्डकी प्रदेश सरकारको बजेटमा यो पुलदेखि शुरु भएर ताराखोलासम्म पक्की सडक निर्माणसमेत थालिएको छ ।

गलकोट नगरपालिकाभित्र फोहरको व्यवस्थापन नभएकाले नाली भने स्थानीय खोलामा मिसाइएको छ । “शौचालयको फोहर नभएकाले नालीको पानी मात्रै खोलामा पुगेको हो”, भण्डारीले भन्नुभयोे, “व्यवस्थित फोहर व्यवस्थापनका लागि भने नगरपालिकाले थप योजना ल्याउनुपर्छ ।” बजारको फोहर व्यवस्थापनका लागि नगरपालिकाले स्थानको खोजी गरिरहेको छ ।

स्थान भेटिएपछि दिगो व्यवस्थापनको ‘डम्पिङ’ बनाउने योजना गैरेले सुनाउनुभयो । केही वर्षदेखि चासो राखेर पनि जग्गा छनोटमा समस्या परेको उहाँले बताउनुभयो । गलकोट नगरपालिकाले सम्भावित स्थानको खोजी गरेर खरीद गर्ने योजना पनि बनाएको छ । कतिपयले फोहर व्यवस्थापनको लागि भनेर जग्गा नदिँदा ढिला भएको वडा नं ३ का अध्यक्ष वीरजङग भण्डारीले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.