पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

काठमाडौं- पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ । विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहनुभएका नेता मानन्धरको ९१ वर्षको उमेरमा हिजो साँझ ८.२० मा निधन भएको हो ।

राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लाग्नुभएका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित हुनुहुन्थ्यो । जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहनुभएका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आउनुभयो ।

नेकपा (संयुक्त) स्थापनामा उहाँको ठूलो योगदान रहेको छ । विसं २०४६ को जनआन्दोलनपछि उहाँलाई मन्त्री बन्न आग्रह गरिएपनि उहाँले निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गर्नुभयो । नेता मानन्धरले कम्युनिष्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधै प्रतिवाद गर्दै आउनुभएको उहाँलाई चिन्ने जान्ने नेताहरुको भनाइ छ ।

संयुक्त वाममोर्चा निर्माणदेखि पछिल्लो पटक नेकपा (संयुक्त) सम्मको स्थापनामा महत्वपूर्ण योगदान गर्नुभएका मानन्धर खास अर्थमा सर्वहारा नेताको रुपमा आफूलाई स्थापित गर्नुभयो ।

उहाँका छोरा सुनिल मानन्धर नेकपा (माओवादी केन्द्र) का नेता हुनुहुन्छ । यस्तै, उहाँका तीन छोरी हुनुहुन्छ । दिवङ्गत नेता मानन्धरको आज बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.