आज नेपाल पत्रकार महासंघको निर्वाचन, करीब १३ हजार पत्रकार प्रत्यक्ष मतदानमा सहभागी हुँदै

काठमाडौं- देशका पत्रकारहरुको छाता संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघको निर्वाचन आज विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने भएको छ ।

महासंघको २६ औं अधिवेसनसँगै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा प्रतिष्ठान स्तरमा एकैपटक निर्वाचन हुन लागेको हो ।

महासंघमा सदस्य रहेका देशभरिका करिब १३ हजार पत्रकारहरु प्रत्यक्ष रुपमा निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।

यसअघि पत्रकारहरुले आफ्ना प्रतिनिधिहरु छनौट गर्ने र ती प्रतिनिधिहरुले केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिलाई मतदान गरेर छनौट गर्ने विधि रहेकोमा यसपटक हरेक सदस्यले केन्द्रीय प्रतिनिधिलाई प्रत्यक्ष रुपमा मतदान गर्ने विधि लागू गरी निर्वाचन हुन लागेको छ ।

यस पटकको निर्वाचनमा निर्वाचित हुने प्रतिनिधिहरुमा लिङ्गीय, जातीय, क्षेत्रीय तथा वर्गीय समावेशीकरणलाई पनि विशेष महत्व दिइएको छ ।

हरेक तहका समितिमा अनिवार्य रुपमा महिला उपाध्यक्ष हुनुपर्ने व्यवस्था समेत गरी महिलाहरुको प्रतिनिधित्व ५० प्रतिशत हुने व्यवस्था गरिएको छ ।

वि.सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रुपमा महासंघ रहेको छ । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो ।

देशका ७७ मध्ये ७६ जिल्लामा महासंघको शाखा छ भने २० भन्दा बढी पत्रकारहरु रहेका ४२ वटा सञ्चार प्रतिष्ठानहरुमा शाखा रहेका छन् ।

देशका ७ प्रदेशसहित काठमाडौं उपत्यकालाई छुट्टै एकाइ मानी ८ वटा भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान र एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासंघका १० प्रदेश समिति र परिषद छन् ।

महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोख्रेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकी उम्मेदवार रहेका छन । महासंघको निर्वाचन तीन-तीन वर्षमा हुने गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.