बोडेमा जात्रा नरोकिने, आठौँ पटक बुद्धकृष्णले जिब्रो छेड्ने

भक्तपुर- मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौं पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने छन् ।

गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण जात्रा सञ्चालन हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको यो जात्राले यस वर्ष भने निरन्तरता पाउने भए पछि जिब्रो छेड्न उहाँ तयार हुनुभएको हो ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत उहाँले कोरोना महामारी शुरु भएसँगै गत वर्षदेखि कोभिडका बिरामी मात्रै बोक्ने आइसोलेटेड एम्बुलेन्स चलाएर कोरोना सङ्क्रमितको सेवा गर्दै आउनुभएको छ ।

जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।

जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

हालसम्म १२ जनाबाट निरन्तर १०६ वर्ष जिब्रो छेड्का छन् । विसं २०७६ सम्ममा सात पटक जिब्रो छेड्नुभएका बुद्धकृष्णले यसवर्ष आठौँ पटक जिब्रो छेड्ने तयारीमा हुनुहुन्छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.