म्यानमारमा कम्तीमा ५१ बालबालिका मारिएः राष्ट्रसंघ

राजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो ।

आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरुले गरेको हिंसात्मक आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो, राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले भन्नुभयो ।

नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले अप्रिल १३ तारिखसम्मको विवरण प्रस्तुत गर्नु भएको थियो । आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरुलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको पनि उहाँले जानकारी दिनुभयो ।

हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसंघले पटक पटक आग्रह गरेपनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै उहाँले चिन्ता पनि व्यक्त गर्नुभयो ।

पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यानमारको सत्ता हातमा लिएको छ ।

तत्कालिन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो ।

सेनाले सत्ता लिएकै दिनदेखि सेनाको कदमको सर्वत्र विरोध भइरहेको छ । सेनाले सत्ता लिनु गलत भएको भन्दै राष्ट्रसंघलगायतका विश्वव्यापी संस्था र विभिन्न देशहरुले म्यानमारलाई प्रजातान्त्रिक प्रक्रियामा फर्काउन पटक पटक आग्रह गर्दै आएका छन् ।

सर्वत्र विरोध हुदाँहुदै पनि सेनाले अटेरी गरिरहेपछि भइरहेको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ७०७ जनाको मृत्यु भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.