असिनापानीले धनकुटा र तेह्रथुममा करोडौंको तरकारी बाली नष्ट

धनकुटा- हिजो साँझ परेको असिनापानीले धनकुटा र तेह्रथुममा करोडौं बराबरको तरकारी बाली नष्ट गरेको छ ।

हिजो साँझ ५ बजेबाट परेको असिनापानीले धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ । अत्यधिक परेको असिनापानीले तरकारीबालीमा ठूलो क्षति पुगेको छथर जोरपाटी-६ सिधुवाका किसान मेघेन्द्र गुरुङले जानकारी दिनुभयो ।

असिना पानीले धनकुटामा मात्र करिब १३ करोडको तरकारी बाली नष्ट गरेको गुरुङले बताउनुभयो । तीव्र हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पुर्‍याएको छ ।

असिनाले धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकाको वडा न. ६ को पुरै भाग, वडा न. २ र ५ को केही भाग तथा महालक्ष्मी नगरपालिकाको वडा न. १, ८ र ९ का केही भागमा लगाएको तरकारी बालीहरु नष्ट भएको छ ।

यस्तै हिजै साँझ परेको असिनापानी तेह्रथुमको छथर गाउँपालिका, लालिगुराँश नगरपालिका क्षेत्रका किसानले लगाएको तरकारी बाली पनि नष्ट भएको छ ।

असिनापानीले तरकारी, फलफूल र मकै बालीमा क्षति पुर्‍याउँदा किसान चिन्तित भएका छन् । बारीमा टिप्न तयारी अवस्थामा रहेका तरकारीबाली सम्पूर्ण रुपमा नष्ट भएका हुन् ।

तरकारीबालीमा क्षति भएपछि स्थानीय तहहरुले भने तथ्याङ्क संकलनपछि मात्र यथार्थ विवरण बताउन सकिने जानकारी दिएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.