माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना छैन : सभापति देउवा

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको बताउनुभएको छ । सभापति देउवाले अहिलेको राजनीति एकदमै तरल अवस्थामा रहेकाले के हुन्छ भन्न नसकिने पनि उल्लेख गर्नुभयो।

नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँदै पत्रकारहरुसँग देउवाले भन्नुभयो- ‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन् । ओली र प्रचण्डबीच द्वन्द्व देखिएको छ । तर, अहिलेसम्म माओवादीले किन समर्थन फिर्ता लिएको छैन ? यसमा शंका छ । ओली अहिले पनि सुविधाजनक बहुमतमै छन् । अल्पमतमा छैनन् । माओवादीले अविश्वासको प्रस्ताव लिएमा कांग्रेस सरकार गठन गर्न अग्रसरता लिन्छ ।’

नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ को आज विहान आफ्नै निजी निवास बुढानिलकण्ठमा लोकार्पण गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

२० वटा जातजातीको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसावले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको साँस्कृतिक पक्षको खोज,अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकैठाउँमा उतार्नु महत्वपूर्ण काम भएको बताउनुभयो ।

पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ्ग, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुषन्धान मुलक लेखहरू रहेका छन् ।

५१२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.