लुम्बिनी प्रदेश सरकारमा जसपा पनि, चार मन्त्रीले लिनुभयो शपथ

काठमाडौं– लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्ताव दर्ता गराएका जसपाका सांसदलाई मन्त्री बनाउनुभएको हो । जसपाका प्रदेशसभा सदस्य सन्तोष पाण्डे भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त हुनु भएको छ । विजय यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री बन्नु भएको छ भने सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरूलाई आजै सपथ ग्रहण गराउनुभयो । नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेले मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा आफूहरुको हस्ताक्षर दुरुपयोग गरीएको बताउनुभयो । उहाँले प्रदेश सरकारमा आफूहरु पार्टीको निर्यण अनुसार नै सहभागी बनेको समेत बताउनुभयो ।

सोमबार नै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेकपा माओवादी केन्द्रसहितका दलहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४१ प्रदेशसभा सदस्यहरूले अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका हुन् । नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

लुम्बिनी प्रदेशसभामा ८७ सदस्य रहेकोमा दुई सदस्य पदमुक्त भएका छन् । नयाँ सरकार बनाउन ४३ सदस्य चाहिन्छ । नेकपा एमालेका ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

यसैबीच आफैँ सहभागी प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका २ जना मन्त्रीहरुले राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक बिकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । अविश्वास प्रस्ताव दर्ता तथा मन्त्रिपरिषद विस्तारसँगै सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ भने जनता समाजवादी पार्टी सरकारमा सामेल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.