लाप्राकका भूकम्पपीडितलाई एकीकृत नमूना बस्ती हस्तान्तरण

गोरखा- गोरखाको धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्ती आज भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ ।

गोरखा भूकम्पबाट विस्थापित हुनुपर्ने अवस्थामा पुगेका लाप्राकका भूकम्पपीडितको पुनःस्थापनाका लागि निर्माण गरिएको एकीकृत नमूना बस्ती लालपुर्जासहित हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ कार्यालय गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिनुभयो ।

प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारी, लगायतको उपस्थितिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले भूकम्प पीडितलाई लालपुर्जा थमाएर बस्ती हस्तान्तरण गर्नुभएको हो ।

भूकम्प गएको करीब छ वर्षपछि लाप्राकका भूकम्पपीडितले भूकम्प प्रतिरोधी घर पाएका गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । पाँच सय ७३ घरधुरी रहेको एकीकृत नमूना बस्तीमा रहेका भूकम्पपीडितलाई उपलब्ध गराउन पर्ने बाँकी लालपुर्जामध्ये तयार भएकाजति गाउँपालिकालाई प्राप्त भएकाले अब गाउँपालिकाले नै बाँकी रहेकालाई लालपुर्जा वितरण गर्ने उहाँको भनाइ छ ।

कूल १८ दशमलव ३२ हेक्टर क्षेत्रफलमा फैलिएको एकीकृत नमूना बस्ती गैर आवासीय नेपालीसङ्घ (एनआरएनए) ले निर्माण गरेको हो ।

एक परिवारका लागि करीब तीन आना तीन पैसा जग्गा परेको नमूना बस्तीमा प्रत्येक घर चार कोठाका दुई तलाका रहेका छन् भने प्रत्येक घरका लागि छुट्टै शौचालयसमेत निर्माण गरिएको छ ।

बस्तीमा निर्माण भएका घर गोलाप्रथाबाट स्थानीयलाई छुट्याइएको थियो । बस्ती निर्माणका लागि अहिलेसम्म करीब ५७ करोड ६६ लाख रुपैयाँ खर्च भएको एनआरएनएले जनाएको छ ।

उक्त बस्ती निर्माणका लागि एनआरएन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा शहरी विकास मन्त्रालयबीच २०७३ साल वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएको थियो । दुई वर्षभित्रमा बस्ती निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गर्ने भनिए पनि करीब पाँच वर्षपछि मात्र बल्ल बस्ती हस्तान्तरण गरिएको हो ।

बस्तीमाा अझै एक घरबाट अर्को घरमा जान आउनका लागि बाटो निर्माण, ढल निकासलगायका काम भने गर्न बाँकी रहेको छ । बाँकी रहेका काम छिट्टै निर्माण शुरु गरिने प्राधिकरण प्रमुख कार्यकारी निर्देशन सुशील ज्ञवालीले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.