भूमि आयोगले जग्गाको समस्या सधैंका लागि समाधान गर्छः मन्त्री तुम्बाहाङ्फे

विराटनगर– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीलाई जग्गाको पूर्जा वितरण गर्ने जानकारी दिनुभएको छ ।

प्रेस चौतारी मोरङद्वारा शनिबार विराटनगरमा आयोजित ‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार ’ वितरण गर्दै उहाँले सरकारले संविधान र ऐनअनुसार निर्माण गरेको आयोगले जग्गाको पूर्जा वितरण गरी सधैँको समस्याको अन्त्य गर्ने बताउनुभयो ।

उहाँले सरकार सम्पूर्ण जनताको स्वास्थ्य जीवनरक्षाको लागि प्रतिबद्ध रहेको चर्चा गर्दै कोभिड–१९ सङ्क्रमित जनताको निःशुल्क स्वास्थ्य उपचार एवं खोपको व्यवस्था गरिरहेको जानकारी दिनुभयो । उहाँले पत्रकारिता क्षेत्रले सिङ्गो मुलुकलाई प्रभावित गर्ने हुनाले सत्यतथ्यका आधारमा समाचार पस्कनुपर्ने बताउनुभएको छ । उहाँले मुलुक आम निर्वाचनतर्फ जान उन्मुख रहेको चर्चा गर्दै निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि मतदाता नामावलीमा नाम छुटेका तथा उमेर पुगकाले आफ्नो नाम अद्यावधिक गर्न सबैसँग आग्रह गर्नु भयो ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले सञ्चारकर्मीले व्यावसायिक दक्षता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ अधिकारी, प्रेस चौतारी प्रदेश उपाध्यक्ष लीलाराज भट्टराई, सञ्चारकर्मी महेन्द्र विष्ट, माधव अधिकारी, चौतारी मोरङ संयोजक सुदीप कोइराला र शशाङ्क पौडेल स्व मैनालीले पत्रकारिताका माध्यमबाट जनतामा चेतना जागृत गराउन ठूलो भूमिका खेल्नु भएको चर्चा गर्नुभयो ।

पुरस्कृत पत्रकार कमल पौडेल अस्वस्थ्य हुनु भएकामा उहाँका छोरा विभिन्न पौडेललाई नगद रु १५ हजार ५१५ र प्रमाणपत्र प्रदान गरिएको थियो । स्व मैनालीले विराटनगरलाई कार्य क्षेत्र बनाई दैनिक एवं विभिन्न साप्ताहिक पत्रपत्रिकामा समाचार सम्प्रेषण गर्नुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.