पत्रकार महासंघ र सञ्चार उद्यमीको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड

काठमाडौं– सम्पादकहरुले पत्रकार महासंघ र सञ्चार उद्यमीको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग काठमाडौंमा आइतबार गरेको अन्तर्क्रियामा सम्पादकहरुले महासंघ, पत्रकार र सञ्चार उद्यमीको सहकार्यबाटै समस्याहरु समाधान हुने बताउनुभयो ।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले समाचार कक्षसँगको सम्बन्ध सुमधुर बनाएरमात्रै महासंघले श्रमजीवी पत्रकारको समस्या हल गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्पादकहरु पत्रकारको प्रतिनिधि हो, श्रमजीवीलाई समस्या नहोस् भन्नेमा हाम्रो पनि तत्परता रहन्छ ।’

महासंघमा व्यवसायिक पत्रकारको उपस्थिति बढ्दै जानु खुसीको कुरा भएको बताउँदै लुइँटेलले महासंघले श्रम सुरक्षासँगै व्यवसायिक दक्षतामा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

ईकागज डट कमका प्रधान सम्पादक हरिबहादुर थापाले प्रविधि र ट्रेन्ड फरक हुँदा पनि पत्रकारको शैली पुरानै रहेको उल्लेख गर्नुभयो । अध्ययन र अन्तर्क्रिया नहुँदा कतिपय अवस्थामा पत्रकारहरु बहकिने अवस्था आएको बताउनुभयो । उहाँले महासंघ आफैं सृजनात्मक हुन नसकेको जिकिर गर्नुभयो । ‘महासंघ मौन रहँदा कतिपय विषयहरु पूरा हुँदैनन्, महासंघ सबैको हो,’ उहाँको सुझाव थियो, ‘अन्तक्रियामा बसियो भने सहज नै हुछ, सम्पादकको भूमिका सहयोगी रहन्छ ।’

रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले नेपाली पत्रकारहरु दैनिक रिपोर्टिङभन्दा टाढा जान नसकेको उल्लेख गर्नुभयो । ‘हामीसँग ५–१० वर्षपछि के हुन्छ भनेर विश्लेषण गर्ने जनशक्ति नै छैन,’ उहाँको भनाइ छ । महासंघ, सम्पादक र पत्रकारबीच ‘मिस कम्युनिकेसन’ हुँदा समस्याहरु जहाँको त्यहिँ रहेको उहाँको भनाइ छ । महासंघले आफ्नो शक्ति र उपस्थितिलाई चिन्न नसकेको घिमिरेले बताउनुभयो ।

नेपाली बहस डट कमका प्रधान सम्पादक चेतन अधिकारीले पत्रकार महासंघ व्यवसायिक भन्दा पनि राजनीतिक चरित्रको भएको बताउनुभयो । ‘धेरै गैरपत्रकारको प्रवेश भयो, शुद्धीकरण हुनुप¥यो भनिरहेकाबेला यहि वर्ष हजारौैं गैरपत्रकार थपिएको छ,’ उहाँले भन्नुभयो, ‘महासंघको बहस समावेशी कसरी बनाउने, पदाधिकारी बढाउने भन्नेमात्रै बढ्ता हुन्छ । क्षमता विकास कसरी गर्ने भन्ने छलफल गर्नुपर्छ ।’

सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले पत्रकार महासंघले सदस्यसँगको सम्बन्ध मतका लागि मात्रै सीमित गरेको बताउनुभयो । उहाँले पत्रकारको व्यवसायिकीकरणका लागि सिरिजमा छलफलहरु गर्न सकिने उहाँको धारणा छ ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारी, निवर्तमान अध्यक्ष शेखर अधिकारी लगायतले विगतबाट पाठ सिक्दै महामारीमा सञ्चारकर्मीको रोजगारी सुरक्षामा ध्यान दिन सम्पादकहरुलाई अपिल गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.