कोरोना महामारीले सुनसान मातातीर्थ

काठमाडौं- नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र नभएको भए राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–६ थानकोट नजीकैको मातातीर्थमा लाग्ने मेलामा हजारौँ भक्तजनको भीड लाग्थ्यो । कोरोना महामारी तीव्र भएसँगै चन्द्रागिरि नगरपालिकाले वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा आज मातातीर्थमा लाग्ने मेला स्थगित गरेपछि सुनसान भएको हो ।

प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौँ भक्तजनको ओइरो लाग्ने गर्छ । गत वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो । जसका कारण गत वर्ष पनि मातातीर्थ मेलाका दिन यो स्थान सुनसान बनेको थियो । आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्थे । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगरप्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । यद्यपि नजीकैका केही स्थानीयवासी भने मातातीर्थमा आएर पूजाआराधना गरेका थिए । हजारौँको भीड हुने दिन एक, दुईजना आए पनि मातातीर्थ सुनसान बनेको छ ।

मातातीर्थ संरक्षण समितिले गर्ने नित्य पूजा भने विधिवत् सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र मृत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ । मातातीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’ को मूर्ति पनि स्थापना गरिएको छ । यो मूर्तिले पनि मातातीर्थको महत्व बढाएको छ । मूर्ति स्थापना भएपछि यहाँ पूजा गर्ने भक्तजनको पनि भीड लाग्ने गरेको थियो ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्षपहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्काे टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।

कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीको दिन मृत आमाहरू त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चीज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे ।

यसरी हरेक वर्ष वैशाख कृष्ण औँसीकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । यसैले वैशाख कृष्ण औँसीलाई मातातीर्थ औँसीसमेत भनिन्छ । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकहरूमा यसरी वर्णन गरिएको छ, ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव’ अर्थात् आमा, बाबु र गुरुलाई देवताजस्तै सम्मान गर ।

‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ अर्थात् छोरा छोरी नराम्रा भए भने पनि आमाले सबैलाई सन्तानका रुपमा माया गर्छिन् । आमा प्रत्येक मानिसका पहिलो शिक्षिका अर्थात् गुरुआमासमेत हुन्छिन् । बालबालिकाले आमाबाटै धेरै कुरा सिक्छन् । बन्दाबन्दीका कारण छोराछोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुशी राख्न सकिने शास्त्रीय मान्यतासमेत रहेको छ ।

कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण छोराछोरी आमा भएको स्थानमा जान सक्ने अवस्था पनि छैन । यसैले फोन, सामाजिक सञ्जाललगायत माध्यमबाट आमाप्रति सम्मान प्रकट गर्नु पनि शास्त्रसम्मत हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुहुन्छ । महामारीको यो बेलामा वचन वा भावले नै आमाप्रति सम्मान भाव प्रकट गर्न सकिने वैकल्पिक उपाय अवलम्बन गर्न सकिने उहाँले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.