मदन भण्डारी : लोकतान्त्रिक आन्दोलनका धरोहर

आज जेठ ३ गते, मदन-आश्रित स्मृति दिवस । २८ वर्ष अगाडि आजैका दिन रहस्यमय दासढुङ्गा दुर्घटनामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज मनीषीहरु जननेता मदन भण्डारी र कुशल सङ्गठक कमरेड जीवराज आश्रितको दुःखद निधन भएको थियो । २८ औं स्मृति दिवसको सन्दर्भमा म नेकपा (एमाले)को सम्पूर्ण पार्टी पङ्क्तिका तर्फबाट दिवंगत नेताहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपाल राष्ट्र तथा नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका र अतुलनीय छन् । मदन भण्डारी नवीन विचारका प्रतिपादक र मौलिक सिद्धान्तका अन्वेषक हुनुहुन्थ्यो । नेपाली समाजको ऐतिहासिक विकासक्रम तथा विशेषता, मार्क्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको गहन अध्ययन एवं समीक्षामाथि आधारित भएर उहाँले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गर्नुभयो । माक्र्सवादका विश्वव्यापी सच्चाइलाई नेपाली क्रान्तिको ठोस व्यवहारमा लागू गर्ने क्रममा आविर्भाव भएको जबज आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको छ । जबजले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्न एवं प्रतिकूलताका बीचमा पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन सफल मार्गदर्शन गरिरहेको छ । विगत दशकहरुमा नेपाली समाजमा देखा परेको हिंसात्मक आन्दोलनको शान्तिपूर्ण अवतरण, एकदलीय शासन व्यवस्थाका पक्षधरहरु लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यता स्वीकार्न तयार भएको अवस्था र नवउदारवादका पक्षधरहरु समेत सामाजिक न्याय र लोककल्याणकारी समाज व्यवस्थाका पक्षमा उभिन वाध्य भएको स्थितिले जबजको सहीपना अकाट्य ढङ्गले पुष्टि भएको छ । समाजवाद निर्माणको हाम्रो आगामी यात्रामा पनि जबजले निरन्तर मार्गदर्शन गरिरहने छ ।

मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर हुनुहुन्थ्यो । तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित गर्दै उहाँले त्यतिबेलाको शक्ति सन्तुलनका आधारमा आन्दोलनको उपयुक्त लक्ष्य, कार्यदिशा र नारा तय गर्न अगुवाइ गर्नुभयो । संयुक्त वाम मोर्चा गठन गर्न पहल गर्नुभयो । एवं, नेपाली काङ्ग्रेसलाई संयुक्त जनआन्दोलनका लागि सहमत गराउन निर्णायक भूमिका खेल्नुभयो । कमरेड पुष्पलालले अगाडि सार्नुभएको तर उहाँको जीवनकालमा साकार हुन नपाएको संयुक्त जनआन्दोलनको कार्यदिशा कमरेड मदन भण्डारीको नेतृत्वकालमा सफल हुन सक्यो । उहाँले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित दायराबाट बाहिर निकालेर सामाजिक जीवनका समग्र पक्ष एवं मानवीय आकांक्षाको समष्टिका रुपमा नयाँ उचाइबाट परिभाषित गर्नुभयो । जनताको जीवनसँग जोडिन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुन सक्ने कुरामा उहाँले विशेष जोड दिनुहुन्थ्यो ।

जबजले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्न एवं प्रतिकूलताका बीचमा पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन सफल मार्गदर्शन गरिरहेको छ

मदन भण्डारी प्रगतिशील राष्ट्रवादका संवाहक हुनुहुन्थ्यो । नेपालको राष्ट्रिय हित रक्षाका लागि अविचलित अडान राख्दै उहाँले राष्ट्रियताको आन्दोलनलाई सही ढङ्गले परिभाषित समेत गर्नुभयो । ती मान्यताहरु राष्ट्रिय हितको रक्षाका लागि आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक रहेका छन् ।

सिद्धान्तको निम्ति जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्ने मान्यता राख्नु हुने, राष्ट्र र जनताको हितमा अविचलित ढङ्गले उभिने र अत्यन्त प्रभावकारी भाषामा जनतालाई सम्वोधन गर्न सक्ने मदन भण्डारी भूमिगत जीवनबाट सार्वजनिक भएको छोटो समयमै जनतामाझ अत्यन्त लोकप्रिय हुनुभयो । सार्वजनिक सर्वेक्षणमा शताब्दी नायकका रुपमा चयन हुनु भएका मदन भण्डारी नेपाली जनताको मनमा ‘जननेता’का रुपमा स्थापित हुनुभएको छ ।

तत्कालीन सङ्गठन विभाग प्रमुख कमरेड जीवराज आश्रित नेपाली कम्युनिष्ट आन्दोलनका एकजना भरोसायोग्य नेता हुनुहुन्थ्यो । आधारभूत वर्गबाट उठेर पार्टी नेतृत्वमा पुग्न सफल उहाँ पार्टीको बलियो सङ्गठनात्मक आधार निर्माणका अग्रणी हुनुहुन्थ्यो । उहाँले हुर्काउनु भएका सयौं कार्यकर्ताहरु आज आन्दोलनको अग्रमोर्चामा स्थापित छन् ।

मदन र जीवराजको निधन : कम्युनिष्ट आन्दोलनलाई गम्भीर धक्का

जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्काको विषय थियो । कतिपय विरोधीहरुले उहाँहरुको निधनसँगै नेपाली कम्युनिष्ट आन्दोलन ओह्रालो लाग्दै समाप्त हुने भविष्यवाणी समेत गरेका थिए । तर ती सबै अनुमान र भविष्यवाणीहरु व्यर्थ साबित भएका छन् । निश्चय नै, यस अवधिमा हामीले गम्भीर धक्का बेहोरेका छौँ । विभाजन, एकीकरण र पुनः विभाजनको प्रक्रियाबाट गुज्रेका छौँ । प्रतिगमन र हिंसाका दुष्चक्रको सामना गर्न वाध्य भएका छौँ । यी सबका बाबजुद कम्युनिष्ट आन्दोलन निरन्तर नयाँ उचाइतिर अगाडि बढिरहेको छ, किनभने भौतिक शरीर नरहे पनि उहाँहरुले हामीलाई सही विचार र सुदृर संगठन छाडेर जानुभएको थियो । आज कम्युनिष्ट आन्दोेलनको पहल र नेतृत्वमा राजतन्त्रको अन्त्य भएर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । जनताका प्रतिनिधिहरुबाट निर्मित प्रगतिशील संविधान जारी भएको छ । आज नेपाली कम्युनिष्ट आन्दोलन मुलुकको मुख्य शक्तिका रुपमा स्थापित भएको छ र नेकपा (एमाले) मुलुकको प्रमुख राजनीतिक दलका रुपमा सरकारको नेतृत्व गरिरहेको छ ।

कमरेड पुष्पलालले अगाडि सार्नुभएको तर उहाँको जीवनकालमा साकार हुन नपाएको संयुक्त जनआन्दोलनको कार्यदिशा कमरेड मदन भण्डारीको नेतृत्वकालमा सफल हुन सक्यो

तीनवर्ष अघिको पार्टी एकताको सम्झना

तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रुपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन । आज नेकपा (एमाले) उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको छ । हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसङ्कल्पित छौँ ।

२८ औं स्मृति दिवसको सङ्कल्प : सामाजिक न्याय सहितको समाज स्थापना

जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको २८ औं स्मृति दिवसका सन्दर्भमा आज हामीले सङ्कल्प गर्नु पर्दछः हामी जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने छौँ । अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गरीछाड्ने छौं । राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशील रहने छौँ । अनि यी उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकतावद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने छौँ ।

फेरि एकपल्ट, जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली !

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.