बागमती प्रदेशका सबै अस्पतालमा अक्सिजन प्लान्ट राखिने

अक्सिजन प्लान्ट खरिद प्रक्रिया सुरु भइसकेको छः मुख्यमन्त्री पौडेल

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै अस्पतालहरुमा क्षमता अनुसारको अक्सिजन प्लान्ट राखिने बताउनुभएको छ । उहाँले प्लान्ट खरिद प्रक्रिया सुरु भइसकेको पनि जानकारी दिनुभयो ।

सोमबार भएको भिडियो कन्फेरेन्स बैठकमा प्रदेशका मन्त्रीहरु, १३ वटा नै जिल्लाका प्रमुख जिल्ला अधिकारी ,जिल्ला समन्वय प्रमुख , महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन दिदै मुख्यमन्त्री पौडेलले जनताको जीवनरक्षाका लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो । उहाँले अस्पतालहरुलाई आवश्यक सम्पूर्ण भौतिक समान उपलब्ध गराउने र पैसाको अभावमा कुनै काम नरोकिने बताउनुभयो ।

पौडेलले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई कोभिड नियन्त्रणमा सम्पूर्ण अधिकार दिएको हुँदा निर्धक्क भै आवश्यक रकम खर्च गरि कोभिड महामारी नियन्त्रणका लागि जुट्न समेत आग्रह गर्नुभयो । महामारी नियन्त्रण नै आफ्नो पहिलो मुख्य प्राथामिकता रहेको बताउदै पौडेलले अहिले सरकारको सबै शक्ति कोभिड नियन्त्रणमा लागेकोले यो वा त्यो बहानामा जिम्मेवारीबाट कोही पन्छिन नपाइने बताउनुभयो ।

कुनै पनि समस्या आए आफूलाई तत्काल जानकारी गराउन र महामारी नियन्त्रणमा आवश्यक निर्णयहरू गरी कार्यान्वयन गर्न निर्देशन दिदै मुख्यमन्त्री पौडेलले आवश्यकता अनुसार आइसोलेसन, कोभिड अस्पतालका साथै अस्पतालमा आवश्यक जनशक्ति लगायत भौतिक सामग्रीको अभाव हुन नदिने बताउनुभयो। कार्यक्रममा प्रदेशका मन्त्रीहरु , महानगरपालिका उपमहानगरपालिका प्रमुख लगायतले आआफ्ना क्षेत्रका कोभिडले पारेको समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.