ग्लोवल गोरखा समाज र गोरखा समाज जापानद्वारा स्वास्थ्य सामग्री सहयोग
गोरखा- कामको शिलशिलामा जन्मथलो छाडेर बिदेशमा कर्मथलो बनाएका गोर्खालीहरुले गृह जिल्लामा कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
ग्लोबल गोरखा समाज र गोरखा सामाज जापानको अगुवाईमा गोरखाका ११ वटा स्थानीय तहलाई आठ लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
स्थानीय तहमार्फत जिल्लाबासीलाई बिदेशमा रहेकाहरुले स्वास्थ्य सामग्री पठाएका हुन् ।
एन्जिटिन किट ४० वटा देखि ७५ वटा सम्म, अक्सिमिटर २० देखि ३० वटा र मास्क पाँच हजार देखि आठ हजार थान बितरण गरिएको ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले बताउनुभयो ।
‘हामीले कोरोना संक्रिमत धेरै भएको पालिकामा धेरै र कम भएको पालिकामा कम दिएका छौँ’ उहाँले भन्नुभयो ।
गोरखामा कोरोना संक्रमण दर ह्वातै बढेकाले जिल्लाबासीलाई परेको समस्यामा केही मलम लगाउन बिदेशबाट सहयोग जुटाइएको ग्लोबल गोरखा समाजका नेपाल संयोजक बिनोद पोखरेलले जानकारी दिनुभयो।
यो सहयोग जुटाउन गोरखा समाज जापानका अध्यक्ष सीएम भट्टराई र उपाध्यक्ष एवं अर्थ संकलन संयोजक मनिष आमात्यले मुख्य भुमिका निर्वाह गर्नुभएको पनि संयोजक पोखरेलले बताउनुभयो ।
गोरखा नगरपालिकाको कार्यालयमा यी स्वास्थ्य सामग्री पालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले बिदेशमा रहेर पनि स्थानीय सरकारलाई सहयोग गर्ने, साझेदारी गर्ने काम सह्रानीय भएको उल्लेन गर्नुभयो।
कोरोनाको महामारीसँग जुध्न सबैको सहकार्यबाट मात्र संभव रहेको बताउँदै प्रमुख पन्तले बिदेशमा रहेका गोर्खालीहरुले जस्तै सामाजिक भाव राखेर अघि बढ्न, सहकार्य गर्न अन्य संघ संस्थालाई पनि अनुरोध गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले कोभिड-१९ को बढ्दो संक्रमण र स्रोत साधन अभाव भइरहेका बेला बिदेशबाट गोर्खालीहरुले पठाएको सहयोग निकै उपयोगी भएको बताउनुभयो ।
ग्लोबल समाज गोरखाले बिभिन्न देशमा रहेका गोर्खालीसँगको सहयोगमा थप सहयोग संकलन गरिरहेको जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्