गणतन्त्र दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

चौधौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेको सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण पुनः तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गर्नुभएको छ ।

गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य¸ सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न सबैमा उत्साह प्रदान गर्ने अपेक्षा राष्ट्रपति भन्डारीले व्यक्त गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै गणतन्त्रलाई परिष्कृत, जनमतको कदर, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता सुदृढ, राजनीतिक समस्याको निराकरण र कोरोना भाइरसको महाव्याधि नियन्त्रण गर्न सबै नेपालीलाई प्रेरणा दिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले गणतन्त्र प्राप्तिको क्रान्ति र आन्दोलनमा सहभागी सबै नेपाली नागरिकलाई सम्मानका साथै बधाई ज्ञापन गर्नुभएको छ । गणतन्त्रलाई परिष्कृत गर्दै राजनीतिक स्थायित्व, संविधानको संरक्षण, पालन तथा विकास र समृद्धिका लागि प्राप्त भएको जनमतलाई सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिनुभएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले संविधानअनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्रै यसको औचित्य स्थापित हुने उल्लेख गर्नुभएको छ ।

सभामुख सापकोटाले संविधानको मर्म र भावनानुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।

यसैगरी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना दिनुहुँदै कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेकोले यसवाट वच्न स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ। सभापति देउवाले लामो सङ्घर्ष र वलिदानवाट प्राप्त गणतन्त्रको रक्षा राजनितिक नेतृत्वको आचरण र व्यवहारमा पनि निर्भर हुने हुँदा त्यसतर्फ सवैलाइ ध्यानाकर्षण गराउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.